दार्चुलामा तुइनबाट युवक खसेको घटनामा एसएसबीको संलग्नता नभएको भारतको दाबी

दार्चुलाको ब्यास गाउँपालिका–२ स्थित मालघाटबाट ३३ वर्षीय जयसिंह धामी महाकालीमा खसेर बेपत्ता भएको घटनामा भारतले आफ्ना सुरक्षाकर्मीको संलग्नता अस्वीकार गरेको छ । भारतको पिथौरागढका जिल्ला अधिकारी आनन्द स्वरुपले शनिबार जिल्ला प्रशाशन कार्यालय दार्चुलालाई जवाफ दिँदै  एसएसबीको संलग्नता नरहेको दाबी गरेका हुन् ।

मालघाटबाट तुइनमार्फत भारत तर्फको बाटो हुँदै सदरमुकाम खलंगा आउँदै गर्दा एसएसबीका जवानले तुइनको डोरी काटेपछि  धामी महाकाली नदीमा खसेर बेपत्ता भएका थिए । तर, आनन्द स्वरुले दार्चुलाका प्रमुख जिल्ला अधिकारीलाई लेखिएको पत्रमा भनिएको छ– ‘एसएसबीले तुइन काट्दा मान्छे खसेको भन्ने हल्ला एकदमै गलत छ ।’

दार्चुलाका प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले भारतीय पक्षले घटना भएको बेला एसएसबी मालघाट क्षेत्रमा ड्युटीमा खटिएको कुरा भने साँचो भएको जिल्ला अधिकारी आनन्दस्वरुपले पत्रमा उल्लेख गरेको जानकारी दिए ।

प्रमुख जिल्ला अधिकारी जोशीले शुक्रबार भारतीय समकक्षीलाई घटनाबारे बुझी जानकारी दिन पत्र पठाएका थिए। भारत पक्षले पनि नदीमा बेपत्ता युवा खोज्न टिम गठन गरेको नेपाल पक्षलाई जानकारी गराएको छ ।

जयसिंहलाई तुुइनमा राखेर नदी पार गराएको बताउने व्याँसकै कल्यानसिंह धामीले समेत एसएसबीले रुखमा बाँधिएको डोरी निकालेपछि उनी नदीमा खसेको बताएका छन् । शुक्रबार बिहान नदीमा खसेका धामीको अवस्था भने अझै अज्ञात छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार