सन्दीपको मुद्दामा आगामी जेठ १ गते पेशी

उच्च अदालत पाटनले बलात्कार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट दोषी ठहर भएका सन्दीप लामिछानेको मुद्दामा आगामी जेठ १ गते पेशी तोकेको छ ।

बलात्कार मुद्दामा जिल्ला अदालत काठमाडौंले दोषी ठहर गरेपछि लामिछाने उच्च अदालत पाटनमा पुनरावेदन गएका थिए । उनको उक्त पुनरावेदन मुद्दामा आज पेशी भएपनि न्यायाधीशले हेर्न नमिल्ने भएपछि सुनुवाइ स्थगित भएको थियो ।

उनको मुद्दामा आज मुख्य न्यायाधीश नृपध्वज निरौला र न्यायाधीश दुर्गाप्रसाद ढुंगेलको इजलासमा पेशी तोकिएपनि यसअघिको सुनुवाइमा न्यायधीश निरौलाले नै झगडिया झिकाउने आदेश दिएको कारण हेर्न नमिल्ने सूचीमा परेको हो । झगडिया झिकाउने आदेश दिने न्यायाधीशले स्वार्थ बाझिने भन्दै अर्को सुनुवाइ नगर्ने अभ्यास छ ।

लामिछानेविरूद्ध अधिकतम सजाय माग गरी उच्च सरकारी वकिलको कार्यालय पुनरावेदनमा गएको थियो । त्यस्तै लामिछानेले पनि आफूले सफाइ पाउनुपर्ने जिकिर गर्दै पुनरावेदन दिएका थिए ।

दुबै पुनरावेदनलाई उच्च अदालतले एकैसाथ राखेर सुनुवाइ गर्ने भएको हो ।

गत पुस १३ गते जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिशिर ढकालले बलात्कार मुद्दामा लामिछानेलाई दोषी ठहर गरेको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार