राप्रपा प्रवक्ताले भने- गण्डकीमा तटस्थ बस्छौं

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) गण्डकी प्रदेशमा तटस्थ बस्ने भएको छ । राप्रपा प्रवक्ता मोहन श्रेष्ठले गण्डकीको सरकारलाई विश्वासको मत नदिने जानकारी दिएका हुन् ।

‘हाम्रो कार्यसम्पादन समितिकै निर्णय हो । हामीले गण्डकीमा अहिलेको सरकारलाई विश्वासको मत दिँदैनौँ । तटस्थ बस्छौँ,’ उनले भने ।

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीलाई आज अपराह्न ३ बजे प्रदेश सभाबाट विश्वासको मत लिने तयारी गरेका छन् । दुई सांसद रहेको राप्रपाले मुख्यमन्त्रीलाई विश्वासको मत नदिने भएको हो।

नेकपा (एमाले) गण्डकी संसदीय दल नेतासमेत रहेका अधिकारी गत चैत २५ गते मुख्यमन्त्री पदमा नियुक्त भएका थिए । संविधानको धारा १६८ उपधारा २ बमोजिम दुई वा दुई भन्दा धेरै दलको समर्थनमा अधिकारी मुख्यमन्त्री नियुक्त भएका थिए ।

अधिकारी एमालेका २२, नेकपा (माओवादी केन्द्र) का सभामुखसहित ८ र सांसद राजीव गुरुङ ‘दीपक मनाङे’को समर्थन थियो ।

गण्डकी प्रदेश सभामा नेपाली कांग्रेसका २७, एमालेका २२, माओवादी केन्द्रका सभामुखसहित ८, राप्रपाका २ र दिपक मनाङे गरी ६० जना सदस्य छन् ।

यसैबीच मुख्यमन्त्री नियुक्त गर्दा सभामुखलाई समेत गणना गरेको भन्दै कांग्रेस गण्डकीका संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले चैत २७ गते सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

रिटको सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीशद्वय सपना प्रधान मल्ल र सारङ्गा सुवेदीले गण्डकी प्रदेश सभाका सभामुख कृष्णप्रसाद धिताललाई गणना नगर्दा पनि ३० जना सांसदको समर्थन रहने भन्दै रिट निवेदन खारेज गरिदिएका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार