बम राखिएको इमेल आएपछि दिल्ली र नोयडाका विद्यालय बन्द

भारतको नयाँ दिल्ली र नोयडाका विद्यालय परिसरमा बम राखिएको इमेल आएपछि सो क्षेत्रका विद्यालय बुधबार बन्द गरिएको छ । विद्यार्थी विद्यालय पुगिसकेपछि हल्ला फैलिएपछि विद्यार्थीलाई घर पठाइएको थियो ।

प्रहरीले दुवै क्षेत्रका विद्यालयमा गएर जाँच गरेको थियो । नयाँ दिल्लीका डीसीपी देवेशकुमार माहलाले प्रहरीले विद्यालयको जाँच गरेको र केही पनि नपाइएको जनाए ।

उनले विद्यालयमा त्यस्तो चिन्ताजनक अवस्था नपाइएको उल्लेख गरेका छन् । दिल्ली सरकारका मन्त्री अतिशीले सामाजिक सञ्जाल एक्समा भनेकी छन्, “आज बिहान केही विद्यालयलाई बमले उडाइदिने धम्की आएको छ । विद्यालय खाली गरिएको छ र दिल्ली प्रहरी विद्यालय परिसरमा तलासी लिइरहेको छ । अहिलेसम्म विद्यालयमा केही पनि भेटिएको छैन ।”

नोयडाका डीआईजी शिवहरि मीनाले डीपीएस नोयडामा बमसम्बन्धी इमेल आएको र विद्यालयहरूबाट विद्यार्थीलाई घर पठाइएको जनाउँदै जाँचका क्रममा अहिलेसम्म केही नमिलेको जनाएका छन् ।

चाणक्यपुरीको संस्कृति विद्यालय, मयुर विहारको मदर मेरी विद्यालय, द्वारकाको दिल्ली पब्लिक विद्यालयलगायतमा बुधबार बिहान इमेल आएको चर्चा भएको थियो । त्यसपछि दिल्ली र नोयडाका कैयौँ विद्यालयमा त्यसप्रकारको इमेल आएको जनाइएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार