गण्डकी प्रदेश सभा बैठक अनिश्चितकालका लागि स्थगित

गण्डकी प्रदेश सभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ ।

शुक्रबारको बैठकमा सभामुख कृष्णप्रसाद धितालले अधिवेशन सुरू भएको सूचना पढेर सुनाएका थिए । सूचना सुनाएलगत्तै कार्यसूचीमा प्रवेश नगरी बैठकको अर्को मिति तय नगरी स्थगित गरिएको छ ।

बैठकमा बिना विभागीय मन्त्री हरिबहादुर चुमानले जीवनाशक विषादी व्यवस्थापन सम्बन्ध व्यवस्थापन गर्न बनेको विधेयक संसदमा पेश गर्ने कार्यसूची थियो । प्रतिपक्षीको उपस्थिति नभएकाले विधेयक पेश गर्ने कार्यसूची अघि नबढाई सभामुख धितालले अर्को सूचना नआउँदा सम्मका लागि संसद स्थगित गरेका हुन् ।

प्रतिपक्षी दलको उपस्थिति बिनै संसद चलाएर विधेयकसमेत पेश गर्नु अलोकतान्त्रिक र असंवैधानिक हुने कांग्रेस गण्डकीका प्रमुख सचेतक नन्दप्रसाद न्यौपानेले बताए ।

आजको बैठक प्रतिपक्षी दल नेपाली कांग्रेसले बहिष्कार गरेको थियो । सभामुख समेतको समर्थनमा प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गरेपछि नेपाली कांग्रेस त्यसविरुद्ध अदालत गएको छ ।

सर्वोच्च अदालतले कांग्रेसले हालेको रिटमाथि सुनुवाइ गर्दै गण्डकी सरकारलाई दीर्घकालीन निर्णय नगर्न अन्तरिम आदेश दिएको छ । साथै मुद्दालाई अग्राधिकार दिएर १० वैशाखमा पेशी तोकेको छ ।

सर्वोच्चको आदेश विपरीत बैठक आह्वान भएको भन्दै कांग्रेसले विरोध जनाएको थियो । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले १० वैशाख अघि नै विश्वासको मत लिने तयारी गरेका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार