कोशीमा मुख्यमन्त्रीलाई विश्वासको मत लिन निर्देशन दिने संकल्प प्रस्ताव बहुमतले पारित

कोशीमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रले मुख्यमन्त्री केदार कार्कीलाई विश्वासको मत लिन निर्देशन दिनेलगायतका विषय समावेश संकल्प प्रस्ताव प्रदेशसभाबाट पारित भएको छ ।

आज बसेको प्रदेश सभाको बैठकबाट बहुमतले सो संकल्प प्रस्ताव पारित भएको हो । संकल्प प्रस्तावमाथि आजै छलफल भएको थियो । छलफलमा तथा उठेका विषयमा मुख्यमन्त्रीले आज जवाफ दिएका थिए ।

मुख्यमन्त्री कार्कीले सांसदहरुले उठाएका प्रश्नको जवाफ दिएपछि सभामुख अम्बरबहादुर विष्टले ध्वनी मतले सो प्रस्ताव बहुमतबाट पारित भएको घोषणा गरेका थिए । तर, प्रस्ताव दर्ता गर्ने दलहरु नेकपा एमाले र माओवादी केन्द्रले मत विभाजनको माग गरेपछि मत विभाजनमा गएको थियो ।

जसमा प्रदेश सभामा उपस्थित ५२ जनाले उक्त प्रस्तावको पक्षमा मत दिँदा राप्रपाका ३ जनाले भने तटस्थ रहको जानकारी गराए । नेपाली कांग्रेस र एकीकृत समाजवादीले भने कुनै पनि पक्षमा मत दिएनन् ।

नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक रेवती रमण भण्डारीको प्रस्ताव तथा एमाले संसद् किशोरचन्द्र दुलाल र माओवादी केन्द्रका सांसद गणेश उप्रेतीको समर्थनमा प्रदेश सभामा सङ्कल्प प्रस्ताव पेस भएको हो ।

संकल्प प्रस्तावमा ‘चैत्र २६ को मितिले संविधानको धारा १८८ को उपधारा २ बमोजिम प्रदेश सभाको बैठकमा आफूमाथि विश्वास छ भन्ने प्रस्ताव राखी विश्वासको मत लिन प्रदेशसभाको बैठकबाट माननीय मुख्यमन्त्री ज्यूलाई निर्देशन गरियोस्’ भन्ने उल्लेख छ ।

दुई दलको संकल्प प्रस्तावमा बहुमत सदस्यको विश्वास गुमाइसकेको सरकारका मुख्यमन्त्रीले प्रदेश सभाबाट विश्वासको मत प्राप्त नगरून्जेल दीर्घकालीन असर पर्ने प्रकृतिका नीतिगत तथा कार्यक्रमिक निर्णय एवं गैरबजेटरी शीर्षकमा खर्च गर्ने कार्य नगर्न नगराउन मुख्यमन्त्री, मन्त्रीहरू, प्रमुख सचिव र प्रदेश सरकारका सचिवहरूलाई निर्देशन दिने पनि उल्लेख छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार