लुम्बिनीमा नव नियुक्त सात मन्त्रीले लिए शपथ, मन्त्रालय फुटाएर मिलाइयो भागबण्डा

लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले बिहीबार मन्त्रिपरिषद् विस्तार गरेका छन् । मन्त्रिपरिषद् विस्तारपछि लुम्बिनीमा मन्त्रालयको सङ्ख्या ११ पुगेको छ ।

बिहीबार नियुक्त सबै विनाविभागीय मन्त्रीलाई प्रदेश प्रमुखको कार्यालय बुटवलमा प्रदेश प्रमुख अमिक शेरचनले पद तथा गोपनीयताको शपथ गराए ।

नियुक्त हुने मन्त्रीमा एमालेबाट गुल्मीका दिनेश पन्थी, कपिलवस्तुका अर्जुनकुमार केसी, रुपन्देहीका भूमिश्वर ढकाल र बाँकेका रत्नबहादुर खत्री, नागरिक उन्मुक्ति पार्टीका धर्मबहादुर चौधरी, नेकपा एसबाट भगवती अधिकारी र स्वतन्त्र सांसद खड्ग बस्नेत छन् ।

मुख्यमन्त्रीले अरू सात जना मन्त्रीको भने मन्त्रालय तोकेका छैनन् । सातजना मन्त्रीले बिहीबार विभागीय मन्त्रीको रूपमा शपथ लिएका हुन् । आज जिम्मेवारी नतोकिए पनि नवनियुक्त मन्त्रीहरू भूमिश्वर ढकालले सहकारी विकास, दिनेश पन्थीले गृह, अर्जुन कुमार केसीले वन र रत्नबहादुर खत्रीले सामाजिक विकास मन्त्रीको जिम्मेवारी पाउने सहमति भएको एमाले संसदीय दलको कार्यालयले जनाएको छ।

यसअघि विनाविभागीय मन्त्रीको रूपमा शपथ लिएका तीनजना मन्त्रीको जिम्मेवारी तोकिएको छ ।

जस अनुसार नेकपा (एमाले)का चेतनारायण आचार्यलाई आर्थिक मामिला तथा योजना मन्त्रालय, नेकपा (माओवादी केन्द्र)का दीपेन्द्र पुनलाई स्वास्थ्य मन्त्रालय र जनता समाजवादी (जसपा)का भण्डारीलाल अहिरलाई कृषि मन्त्रालयको जिम्मेवारी प्रदान गरिएको मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयले जनाएको छ ।

पाँच राजनीतिक दलका ४७ र एक स्वतन्त्र गरी ४८ प्रदेश सभा सदस्यको समर्थनमा चैत २३ गते माओवादी संसदीय दलका नेता जोखबहादुर महरा मुख्यमन्त्री बनेका थिए ।

त्यो समयमा गठबन्धन दलबिच जसपाका दुई, एकीकृत समाजवादी र स्वतन्त्र सांसद खड्ग बस्नेतलाई मन्त्री बनाउने लिखित सहमति भएको थियो ।

यसअघि दश वटा मन्त्रालय रहेको लुम्बिनीमा मुख्यमन्त्री महराले भागबण्डा पुर्याउनका लागि ११ वटा मन्त्रालय पुर्याएका छन् । सहमति अनुसार जसपा र माओवादी केन्द्रलाई एक-एक वटा मन्त्रालय दिँदा दुई वटा मन्त्रालय अझै थप्नुपर्ने देखिएको छ ।

दुईवटा मन्त्री थप हुँदा लुम्बिनीमा मन्त्रीको संख्या १३ पुग्ने छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार