भारतको छत्तीसगढमा बस दुर्घटना हुँदा १२ जनाको मृत्यु

भारतको छत्तीसगढमा बस दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ । मंगलबार बेलुकी साढे ८ बजे एक निजी कम्पनीको मजदुर चढेको बस छत्तीसगढको दुर्ग जिल्लास्थित कुम्हारीनजिक दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको हो ।

बिबिसीका अनुसार बस खपरी गाउँ पुग्नै लाग्दा अनियन्त्रित भई सडकबाट करिब ४० मिटर तल खसेको थियो । दुर्घटनामा १५ जना भन्दा बढी घाइते भएका छन् ।

त्यहाँ पुगेपछि गाडीको हेडलाइट नबलेको र सडकबत्ति पनि नबलेकोले दुर्घटना भएको घाइतेहरूले बताएका छन् । कच्ची सडकमा बस अनियन्त्रित भएपछि छेउमा रहेको खानीको खाडलमा खसेको घाइतेलाई उद्धृत गर्दै बिबिसीले उल्लेख गरेको छ ।

उक्त स्थानमा यसअघि पनि धेरै दुर्घटना भएको बताइएको छ । तर अहिलेसम्म खानीको खाली रहेको खाल्डो पुरिएको छैन । छत्तीसगढका मुख्यमन्त्री विष्णुदेव सायले घटनाको अनुसन्धानका लागि निर्देशन दिइसकेको बताएका छन् ।

दुर्घटनापछि भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र छत्तीसगढका मुख्यमन्त्री विष्णुदेव सायले दुः ख व्यक्त गर्दै मृतकहरूप्रति श्रद्धाञ्जली र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार