बहराइनसँग नेपाल ५–० ले पराजित

फिफा विश्वकप–२०२६ छनोट अन्तर्गत बहराइनविरुद्धको पहिलो लेगमा नेपाली राष्ट्रिय फुटबल टोलीले फराकिलो हार व्यहोरेको छ ।

बिहीबार राति बहराइनको बहराइन राष्ट्रिय रंगशालामा सम्पन्न खेलमा घरेलु टिमलाई जित दिलाउन माहदी अल हुमाइदान, सायद बाकर, अली मादान इब्राहिम अल खतल र इस्माइल अब्दुल्लातिफले एक–एक गोल गरे ।

खेलको दोस्रो मिनेटमा नै अल हुमाइदानको गोलमा बहराइनले अग्रता बनाएको थियो । नवौँ मिनेटमा नै सायद बाकरले गोल थप्दै घरेलु टिमको अग्रता दोब्बर पारेका थिए । यस्तै, पहिलो हाफको इन्जुरी समयमा अली मादानले गोल गरेपछि बहराइनले अग्रतालाई ३–० को सहज अवस्थामा पुर्‍याएको थियो ।

पहिलो हाफमा तीन गोल बेहोरेको नेपालले दोस्रो हाफमा थप दुई गोल बहोर्‍यो । खेलको निर्धारित समय सकिन तीन मिनेट बाँकी रहँदा इब्राहिम अल खतलले गोल गरेपछि बहराइनले ४–० को अग्रता बनाएको थियो ।

यस्तै, इन्जुरी समयमा प्राप्त पेनाल्टीलाई इस्माइल अब्दुल्लातिफले सदुपयोग गरेपछि बहाइनले ५–० को फराकिलो जित सुनिश्चित गरेको हो ।

सुरुवातदेखि नै बहराइनको आक्रमण झेलेको नेपालले १६औँ मिनेटमा चोटका कारण फरवार्ड अञ्जन विष्टलाई परिवर्तन गरेको थियो । अञ्जनको स्थानमा दिनेश हेन्जन मैदान प्रवेश गरेका थिए ।

बहराइनविरुद्धको खेलमा नेपालका लागि डिफेन्डरद्वय अभिषेक लिम्बू र सौभाग्य राई (सन्जित) ले डेब्यु गरे। अभिषेकले खेलको सुरुवाती रोजाइमा मौका पाउँदा सोभाग्यले दोस्रो हाफमा नेपालका लागि डेब्युको मौका पाए।

विश्वकप छनोटमा समुह एच मा रहेको नेपाल अंक बिहीन छ। छनोटका तीन खेलमा हार भोगेको नेपाल अंक बिहीन रुपमा अंक तालिकाको पुछारमा छ। २ मध्य २ खेलमा जित निकालेको बहराइन ६ अंकसहित दोस्रो स्थानमा छ।

तीन खेलमा अपराजित रहेको युएई ९ तालिकाको शीर्ष स्थानमा रहँदा १ खेलमा जित र २ खेलमा हार भोगेको यमन ३ अंकसहित तेस्रो स्थानमा छ।

विश्वकप छनोट अन्तर्गतकै दोस्रो लेगमा नेपाल र बहराइनले १४ गते पुनः खेल्नेछन्।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार