फिफा विश्वकप–२०२६ छनोट : आज बहराइनसँग खेल्दै नेपाल

फिफा विश्वकप–२०२६ छनोटको दोस्रो चरणमा आज नेपाली राष्ट्रिय टिमले बहराइनसँग खेल्दै छ ।

बहराइनको राष्ट्रिय स्टेडियममा आज राति १२:४५ बजे घरेलु टिमविरूद्ध नेपालले विश्वकप छनोट अन्तर्गत एसियाको दोस्रो चरणको छनोट खेल्दै छ ।

यो खेल नेपालमै हुने तालिका थियो । तर देशको एकमात्र अन्तर्राष्ट्रिय दशरथ रंगशालाको मैदान खराब भएपछि एसियाली फुटबल महासंघले खेल सञ्चालन हुन नसक्ने निर्णय गरेको थियो ।

जसका कारण नेपालको होम म्याच समेत बहराइनमै हुने स्थिति आयो ।नेपालले बिहीबार पहिलो खेल खेलेपछि मंगलबार बहराइनमै दोस्रो खेल खेल्नेछ ।

समूह ‘एच’ मा रहेको नेपालले सुरुवाती दुई खेल गुमाइसकेको छ । नेपाल पहिलो खेलमा युएईसँग ४-० गोल र दोस्रो खेलमा यमनसँग २-० गोलले पराजित भएको थियो ।

पहिलो चरणमा लाओसलाई पराजित गर्दै नेपाल दोस्रो चरणमा पुगेको थियो ।

चार टिममध्ये शीर्ष दुई टिम एसिया कपमा छनोट हुनेछन् भने दुई टिम विश्वकपको तेस्रो चरणका लागि छानिनेछन् । पुछारका दुई टिमको विश्वकप छनोट यात्रा सकिँदा एसिया कपको तेस्रो चरणमा स्थान बन्नेछ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार