पाकिस्तानको राष्ट्रपतिमा आसिफ अली जर्दारी विजयी, आज साँझ शपथ

पाकिस्तानको नयाँ राष्ट्रपतिमा आसिफ अली जर्दारी निर्वाचित भएका छन् । उनले आइतबार (आज) अपराह्न ४ बजे पद तथा गोपनीयताको शपथ खानेछन् ।

पाकिस्तानका प्रधानन्यायाधीश काजी फैज इसाले आसिफ अली जर्दारीलाई शपथ खुवाउनेछन् ।

यसै साता प्रधानमन्त्री बनेका शहबाज सरिफले आसिफ अली जर्दारीलाई दोस्रोपटक पाकिस्तानको राष्ट्रपति बनेकामा बधाई दिएका छन् ।

उनले पाकिस्तानको राष्ट्रपतिमा निर्वाचित हुनु लोकतान्त्रिक मूल्य मान्यताको निरन्तरता भएको बताएका छन् ।

यसअघि पाकिस्तानको निर्वाचन आयोगले शनिबार भएको राष्ट्रपति निर्वाचनको नतिजा सार्वजनिक गरेको थियो ।

आयोगका अनुसार जर्दारीले ४११ मत पाएका छन् भने उनका प्रतिद्वन्द्वी महमूद खान अचकजाईले १८१ मत ल्याएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार