आईसीसी यू–१९ विश्वकप : न्युजिल्यान्डविरुद्ध बलिङमा नेपाल

आईसीसी यू–१९ विश्वकपको आफ्नो पहिलो खेलमा नेपाली युवा टिमले न्युजिल्यान्डविरुद्ध पहिले बलिङ गर्ने भएको छ ।

दक्षिण अफ्रिकाको इस्ट लन्डनस्थित बफेलो पार्कमा हुने खेलका लागि भएको टस जितेर न्युजिल्यान्डका ओस्कार ज्याक्सनले ब्याटिङको निर्णय गर्दै नेपाललाई फिल्डिङको निम्तो दिए ।

युवा विश्वकपमा हालसम्म नेपालले दुई पटक न्युजिल्यान्डविरुद्ध खेल्दा अपराजित यात्रा कायम राखेको छ । नेपालले विश्वकपमा न्युजिल्यान्डविरुद्धको दुवै खेलमा जित निकालेको थियो । यसअघि नेपालले सन् २००६ मा भएको युवा विश्वकपमा एक विकेटले सन् २०१६ मा भएको विश्वकपमा ३२ रनले हराएको थियो ।

यस्तै, युवा विश्वकपमा नेपालले आठ वर्षपछि खेल्ने लागेको हो । यसअघि नेपालले सन् २०१६ को यू–१९ विश्वकप खेलेको थियो । त्यसबेला नेपालले क्वार्टरफाइनलसम्मको यात्रा तय गरे पनि अन्तिम–८ को खेलमा बंगलादेशसँग पराजित भएपछि नेपालको चुनौती समाप्त भएको थियो ।

प्रतियोगिताको नेपाल समूह ‘डी’मा छ । यो समूहमा नेपालसँगै पाकिस्तान, अफगानिस्तान र न्युजिल्यान्ड छन् ।

आजको खेलपछि नेपालले जनवरी २४ मा पाकिस्तान र जनवरी २७ मा अफगानिस्तानविरुद्ध खेल्नेछ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार