दिल्लीमा कुहिरोका कारण हवाई तथा रेल सेवा प्रभावित

भारतको राजधानी नयाँदिल्लीमा लगातार चिसो र कुहिरोको कारण दृश्यतामा कमी आएकाले बुधवार बिहान हवाई तथा रेल सेवाहरू प्रभावित भएका छन् ।

दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय (आईजीआई) विमानस्थलका लागि हुने १२० वटा उडानहरू प्रभावित भएका छन् । कुहिरो र अन्य परिचालन समस्याहरूका कारण बुधबार ५३ वटा उडानहरू रद्द गरिएको घोषणा गरिएको थियो ।

‘दिल्ली एयरपोर्ट फ्लाइट इन्फर्मेसन डिस्प्ले सिस्टम (एफआइडिएस)’ को तथ्याङ्कअनुसार १२० वटा प्रभावित उडानहरूमा ४४ वटा अन्तर्राष्ट्रिय ७६ वटा आन्तरिक लगायतका उडानहरू रहेका छन् ।

बुधबार बिहान आठ बजेसम्मको एफआइडिएसको तथ्याङ्कअनुसार १२० उडानहरू प्रभावित भएका साथै कुहिरो र अन्य कारणहरूले गर्दा कूल ५३ उडान रद्द गरिएको छ । रद्ध गरिएका उडानमा ३७ वटा आन्तरिक र १५ वटा अन्तर्राष्ट्रिय उडानहरू रहेका छन् ।

यसैबीच, बुधबार दिल्ली जाने करिब २० वटा यात्रुबहाक रेलहरू निर्धारित समयभन्दा ढिलो मात्र सञ्चालन भएका छन् ।

भारतीय मौसम विज्ञान विभाग (आईएमडी) को तथ्याङ्कअनुसार बुधबार बिहान ५ः३० बजे पन्जाब, हरियाणा, दिल्ली, पश्चिम राजस्थान, पश्चिम र पूर्वी उत्तर प्रदेशसहित देशका विभिन्न भागमा दृश्यता दुई सय मिटरभन्दा कम रेकर्ड गरिएको थियो ।

आईएमडीका अनुसार बुधबार बिहान दिल्ली, पूर्वी राजस्थान, पूर्वी उत्तर प्रदेश , बिहार, पश्चिम बङ्गाल , अरुणाचल प्रदेश र असमका छुट्टिएका क्षेत्रहरूमा घना कुहिरो देखिएको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार