प्रधानमन्त्री कप क्रिकेटमा पुलिस, मधेस र लुम्बिनीको विजयी सुरुआत

प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट च्याम्पियनसिपमा नेपाल पुलिस क्लब, मधेस प्रदेश र लुम्बिनी प्रदेशले विजयी सुरुआत गरेका छन् । शनिबारदेखि सुरु प्रतियोगितामा पुलिसले वाग्मती प्रदेश, मधेसले कोसी प्रदेश र लुम्बिनीले गण्डकी प्रदेशलाई पराजित गरेका हुन् ।

कीर्तिपुरस्थित त्रिवि खेल मैदानमा पुलिसले बागमती प्रदेशलाई ६८ रनले हरायो । जितका निम्ति २८३ रनको विजयी लक्ष्य पछ्याएको बागमती ४२.३ ओभरमा २१४ रनमा अलआउट भयो । बागमतीका आषुतोश घिरैयाले ९२ रनको योगदान गरे पनि टिमलाई जिताउन सकेनन् ।

त्यसअघि, टस जितेर पहिला ब्याटिङ रोजेको पुलिसले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २८२ रन बनाएको थियो । पुलिसका राशिद खानले १०६ रनको अविजित शतकीय इनिङ्स खेले ।

यस्तै, मूलपानी क्रिकेट मैदानमा मधेसले कोशीलाई ७ विकेटले पराजित गर्‍यो । कोशीले दिएको १२८ रनको लक्ष्य मधेसले २० ओभर १ बलमा तीन विकेट गुमाउँदै पूरा गर्‍यो । मधेसका अनिलकुमार साहले ८८ रनको अर्धशतकीय पारी खेले ।

त्यसअघि, टस हारेर पहिला ब्याटिङ गरेको कोसीले ४१ ओभरमा सबै विकेट गुमाउँदै १२७ रन बनाएको थियो ।

प्रतियोगिताअन्तर्गत शनिबारै भैरहवास्थित सिद्धार्थ रंगशालामा भएको खेलमा लुम्बिनीले गण्डकीलाई ४ विकेटले हरायो । ११२ रनको सामान्य विजयी लक्ष्य लुम्बिनीले २८.२ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्‍यो । लुम्बिनीको जितमा निर्मल गुरुङले ४७ रन बनाए ।

त्यसअघि, टस हारेर पहिला ब्याटिङको निम्तो पाएको गण्डकी ३४.४ ओभरमा १११ रनमा अलआउट भएको थियो ।

पहिलोपटक ‘राउन्ड रोबिन लिग फर्म्याट’मा आयोजित प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टिम सहभागी छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार