एपीएफलाई हराउँदै पुलिसले जित्यो राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि

नेपाल पुलिस क्लब ३४औँ राष्ट्रिय भलिबल प्रतियोगिताको च्याम्पियन बनेको छ ।

साविक विजेता नेपाल एपीएफ क्लबको अपराजित यात्रामा पूर्णविराम लगाउँदै पुलिस क्लब राष्ट्रिय भलिबल प्रतियोगिताको च्याम्पियन बन्न सफल भएको हो ।

कर्णाली प्रदेशको सुर्खेतस्थित वीरेन्द्रनगरमा रहेको खुलामञ्चको कोर्टमा बिहीबार भएको फाइनलमा पुलिसले एपिएफलाई ३–१ को सेटमा पराजित गर्‍यो । सुरुआतमा प्रतिस्पर्धात्मक बनेको पहिलो सेट एपीएफले २५–२२ ले आफ्नो पक्षमा पारेको थियो ।

पहिलो सेट गुमाएको पुलिस दोस्रो सेटबाट भने खेलमा फर्कियो । दोस्रो सेट २५–१९ ले जित्दै पुलिसले खेललाई १–१ सेटको बराबरीमा ल्याए । पुलिसले तेस्रो सेट २५–१८ ले जित्दै खेलमा २–१ को सेटमा अग्रता लिन सफल भयो । चौथो सेटमा पनि २५–२३ को जित निकाल्दै पुलिस च्याम्पियन बन्न सफल भयो । उपाधिसँगै पुलिसले एक लाख रुपैयाँसँगै शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

पुष २० गतेदेखि सुरु भएको प्रतियोगितामा तीन विभागसँगै सात प्रदेश गरी १० टोलीको सहभागिता थियो । समूह ‘ए’ मा पुलिस, एपीएफ, लुम्बिनी, वाग्मती र कोसी थिए । समूह ‘बी’ मा आर्मी, गण्डकी, कर्णाली, सुदूरपश्चिम र मधेस थिइ । शीर्ष दुई टोलीले सेमिफाइनल खेलेका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार