डोरिभाल जुनियर ब्राजिलको मुख्य प्रशिक्षकमा नियुक्त

पाँचपटक फिफा विश्वकप विजेता ब्राजिलको मुख्य प्रशिक्षकमा डोरिभाल जुनियर नियुक्त भएका छन् ।

डोरिभल यसअघि ब्राजिलको घरेलु टोली साओ पाउलोको जिम्मेवारीमा थिए । राष्ट्रिय टिमको जिम्मेवारीमा आउने भएपछि डोरिभालले घरेलु टिमको प्रशिक्षण छोडेका हुन् ।

गएको आइतबार साओ पाउलोले विज्ञप्ति जारी गर्दै डोरिभालले राष्ट्रिय टिमको जिम्मेवारी सम्हाल्ने जनाएको थियो । ब्राजिलले शुक्रबार अन्तरिम प्रशिक्षक फर्नान्डो डिनिजलाई बर्खास्त गरेको थियो ।

ब्राजिलले मुख्य प्रशिक्षकमा इटालीका कार्लो एन्सेलोट्टीलाई ल्याउने प्रयास गरे पनि उनले रियाल मड्रिडसँगको सम्झौता नवीकरण गरेका थिए । एन्सेलोट्टीलाई ल्याउने प्रयास विफल भएपछि डोरिभाललाई रोजाइमा राखिएको थियो ।

६१ वर्षीय डोरिभलको प्रशिक्षणमा ब्राजिलले पहिलो प्रतिस्पर्धा युरोपियन राष्ट्र इंग्ल्यान्ड वा स्पेनसँग मैत्रीपूर्ण खेलमार्फत गर्नेछ । ब्राजिल हाल विश्वकपको दक्षिण अमेरिकी छनोट तालिकाको छैटौँ स्थानमा छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार