गन्तव्यमा पुग्यो भारतले सूर्य अध्ययन गर्न पठाएको आदित्य–एल १

भारतले सूर्यको अध्ययन गर्न पठाएको यान आदित्य–एल १ गन्तव्यमा पुगेको छ ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले एक्स (ट्वीटर)मा लेख्दै आदित्य एल(वान निर्धारित गन्तव्यमा पुगेको जानकारी दिएका हुन् । प्रधानमन्त्री मोदीकै भनाईलाई उद्धृत गर्दै त्यहाँका सञ्चारमाध्यमहरूले पनि आदित्य एल(वान गन्तव्यमा पुगेको उल्लेख गरेका छन् ।

यसबारेमा भारतको अन्तरिक्ष अनुसन्धान संगठन (इसरो)ले केही खुलाएको छैन । भारतका प्रधानमन्त्री मोदीले यसलाई सबैभन्दा जटिल अन्तरिक्ष मिशन रहेको र अहोरात्र खटिएका मुलुकका वैज्ञानिकहरूको अथक प्रयासका कारण मिसन सफल भएको बताएका छन् ।

भारतले ५ अगष्ट २०२३ मा चन्द्रमाको दक्षिणी ध्रुवमा चन्द्रयान–३ को सफल अवतरण भएको एक सातापछि भारतले सूर्यको अध्ययनका लागि अर्को यान पठाएको थियो ।

यो भारतको पहिलो सूर्य मिसन हो । आदित्यको अर्थ संस्कृतमा सूर्य हो । एल १ अर्थचाहिँ पृथ्वी र सूर्यको यस्तो विन्दुको हो, जहाँ दुबै ग्रहको गुरुत्व शक्ति समान हुन्छ । यहाँ रहेको वस्तुलाई दुबैले आफूतर्फ आकर्षित गर्ने क्षमता राख्दैन ।

त्यही स्थानमा रहेर आदित्य एल १ ले पृथ्वीले जसरी नै सूर्यको परिक्रमा गर्ने छ ।

यसअघि अमेरिकी अन्तरीक्ष निकाय नासा र युरोपेली अन्तरीक्ष एजेन्सी ईएसएले पनि सौर्य मिसन पठाइसकेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार