धनगढीलाई हराउँदै ललितपुर सिटी एफसी बन्यो एनएसएल दोस्रो संस्करणको च्याम्पियन

नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करणको उपाधि ललितपुर सिटी एफसीले उचालेको छ ।

साविक विजेता धनगढी एफसीलाई ३–२ गोल अन्तरले पाखा लगाउँदै ललितपुरले फाइनल पुगेको पहिलो प्रयासमा नै उपाधि जित्न सफल भएको हो । शनिबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा ललितपुरले १–० ले पछि परेको अवस्था उल्ट्याउँदै जित निकालेको हो ।

गत सिजन एलिमिनेटरबाट नै बाहिरिएको ललितपुरले फाइनल पुगेको वर्ष नै उपाधि जितेको हो । यता लगातार दोस्रो पटक फाइनल खेलेको धनगढी दोस्रो पटक पनि उपविजेतामा चित्त बुझाउन बाध्य भयो ।

उपाधिसँगै ललितपुरले ७० लाख रुपैयाँ प्राप्त गरेको छ । उपविजेता धनगढीले भने २० लाख रुपैयाँमा चित्त बुझाउन बाध्य भयो ।

३७औँ मिनेटमा आफिज ओलावालेले गोल गर्दै धनगढीलाई अग्रता दिलाएका थिए । तर, धनगढीको यो अग्रता लामो समय टिक्न सकेन । पहिलो हाफको इन्ज्युरी समयमा इमोह इजेकेलले गोल गर्दै ललितपुरलाई खेलमा फर्काए ।

दोस्रो हाफमा ललितपुरले दुई गोल थप्यो । ५०औँ मिनेटमा दिनेश हेन्जनले गोल गर्दै ललितपुरलाई २–१ को अग्रतामा राखे । त्यसको आठ मिनेटपछि इजेकेलले गोल गर्दै ललितपुरलाई ३–१ को अग्रतामा पुर्‍याए ।

इन्ज्युरी समयमा अहमद हिजाजीले गोल गर्दै धनगढीलाई ३–२ को अवस्थामा ल्याए पनि टिमको हार टार्न सकेनन् ।

त्यसअघि, ८०औँ मिनेटमा आगेमाङले रातो कार्ड पाएपछि धनगढी १० खेलाडीमा समेटिएको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार