पोर्चुगलका प्रधानमन्त्री एन्टोनियो कोस्टाले दिए राजीनामा

पोर्चुगलका प्रधानमन्त्री एन्टोनियो कोस्टाले राजीनामा दिएका छन् ।

भ्रष्टाचार मुद्दामा प्रधानमन्त्री कार्यालयका प्रमुख भिटोर एस्कारियालाई त्यहाँको प्रहरीले हिरासतमा लिएपछि प्रधानमन्त्री कोस्टाले मंगलबार राष्ट्रपति मार्सेलो रेबेलो डि सुजासमक्ष राजीनामा बुझाएका हुन् ।

राष्ट्रपति डिसुजाले प्रधानमन्त्रीको राजीनामा स्वीकृत गरेको समाचार संस्था एसोसियट प्रेसले उल्लेख गरेको छ ।

आफ्नो कार्यालयका प्रमुख लिथियम उत्खनन् र हाइड्रोजन परियोजनामा भ्रष्टाचार गरेको आरोपमा पक्राउ परेको केही घन्टामा कोस्टाले पदमा रहिरहन नैतिकताले नदिने बताउँदै राजीनामा बुझाएका हुन् ।

राजीनामापछि उनले टेलिभिजन सन्देशमार्फत आफू कुनैपनि आपराधिक क्रियाकलापमा संलग्न नभएको बताएका छन् । तर प्रधानमन्त्री पदको गरिमा बढाइराख्नका लागि आफूले पदबाट राजीनामा दिएको बताए ।

हाइड्रोजन प्लान्ट निर्माण र लिथियम अन्वेषण तथा उत्खनन् परियोजनामा भ्रष्टाचार भएको र त्यसमा प्रधानमन्त्री कार्यालयका प्रमुखसहित ५ जना पक्राउ परेको एपीले जनाएको छ ।

त्यहाँको अदालतले प्रधानमन्त्री कार्यालय, वातावरण मन्त्रालय, पूर्वाधार मन्त्रालयसहित ३७ वटा सरकारी तथा निजी कार्यालहरूमा छापा मारेको थियो ।

भ्रष्टाचार प्रकरणमा पूर्वाधार मन्त्री जोआओ गलम्बाको पनि संलग्नता रहेको आशंका गरिएको छ। उनी यसअघि उर्जा सचिव तथा पर्यावरण एजेन्सी, एपीएका अध्यक्ष समेत थिए । प्रधानमन्त्री कोस्टाकै संलग्नताबारे पनि त्यहाँको सर्वोच्च अदालतले छानबिन गरिरहेको रोयटर्सले उल्लेख गरेको छ ।

त्यसमा आफू कानुनलाई सहयोग गर्न तयार रहेको कोस्टाले बताएका छन् ।

प्रधानमन्त्री ‍कोस्टाले राजीनामा दिएपछि त्यहाँ मध्यावधि गर्ने कि अर्को सरकार बनाउने भन्ने विषय राष्ट्रपतिले दलहरूसँग छलफल गरी निर्णय गर्ने बताइएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार