प्रतिनिधिसभा विघटन मुद्दा : ९४ वर्षीय वरिष्ठ अधिवक्ता भण्डारीले पनि बहस गर्ने

प्रतिनिधिसभा विघटन मुद्दामा काँग्रेस सभापति शेर बहादुर देउवासहित १ सय ४६ जना सांसदको तर्फबाट वरिष्ठ अधिवक्ता कृष्ण प्रसाद भण्डारीले पनि जवाफी बहस गर्ने भएका छन् । यसअघि ३ जना वरिष्ठ अधिवक्ताले मात्र जवाफ दिने तय गरिएपनि वरिष्ठ अधिवक्ता भण्डारीले जवाफ दिने इच्छा गरेपछि उनलाई पनि समेटिएको हो । ९४ वर्षीय भण्डारी सबैभन्दा ज्येष्ठ वकिल हुन् ।

प्रतिनिधिसभा विघटन मुद्दामा ४५ दिनपछि रिट निवेदक तर्फको बहस सकिँदै छ। संवैधानिक इजलासमा जवाफी बहसका लागि २ घण्टा २ मिनेट बाँकी समय छ । सोमबार बरिष्ठ अधिवक्ताहरु बद्रीबहादुर कार्की, हरिहर दाहाल र शम्भु थापाले जवाफी बहस गर्नेछन् ।

यस्तै जवाफी बहस सकिएपछि एमिकस क्युरीले स्वतन्त्र राय दिनेछन् । एमिकस क्युरीका लागि संवैधानिक इजलासले दुई घण्टा समय छुट्याएको छ । उनीहरुले आधा-आधा घण्टाको दरले २ घण्टा समय लिएर राय प्रस्तुत गर्नेछन् ।

सर्वोच्च अदालत बार र नेपाल बारबाट दुईदुई जना एमिकस क्युरी छनोट गरिएको छ । संवैधानिक इजलासलाई मुद्दा सुनुवाइमा सहयोग गर्न सर्वोच्च अदालत बार एसोसिएसनको तर्फबाट वरिष्ठ अधिवक्ता कोमल प्रकाश घिमिरे र प्रकाश बहादुर केसी तथा नेपाल बार एसोसिएसनको तर्फबाट वरिष्ठ अधिवक्ता राघवलाल वैद्य र उषा मल्ल पाठकलाई एमिकस क्युरीमा राखिएको छ ।

एमिकस क्युरीले राय प्रस्तुत गरेपछि संवैधानिक इजलासले प्रतिनिधि विघटन ‘सदर’ वा ‘बदर’ भन्नेबारे फैसला गर्नेछ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार