नासोँमा बाढीपहिरोबाट एक अर्बको क्षति

अविरल वर्षासँगैको बाढीपहिरोबाट जिल्लाको नासोँ गाउँपालिकामा जलविद्युत् आयोजना र सडक भत्किँदा रु एक अर्बभन्दा बढीको भौतिक क्षति भएको छ । गत जेठ १४ गतेदेखि परेको अविरल वर्षाका कारण आएको बाढीपहिरोबाट गाउँपालिकामा रु एक अर्ब एक करोड ८३ लाख बराबरको सार्वजनिक भौतिक सम्पत्तिमा क्षति भएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाका सूचना अधिकारी गोविन्द रानाभाटका अनुसार सबैभन्दा धेरै सडकमा रु ८३ करोड ६५ लाख बराबरको क्षति भएको छ । नासोँ क्षेत्रभित्र रहेका कच्ची तथा पक्की गरी सडकमा मात्र सो रकम बराबरको क्षति भएको सूचना अधिकारी रानाभाटलले बताए ।

बाढीपहिरोबाट गाउँपालिकाकै प्रशासनिक भवनमा रु पाँच करोड बराबरको क्षति भएको छ । यहाँका सात पुलमध्ये चार वटा पुल बाढीले बगाएको र तीन वटा पुलमात्र मर्मत गर्न सकिने अवस्थामा रहेको पालिकाले जनाएको छ । पुलमा पूर्ण तथा आशिंक गरी रु पाँच करोड २० लाख बराबरको क्षति भएको छ ।

तीनवटा जलविद्युत् आयोजनामा रु चार करोड ५० लाख बराबरको क्षति भएको सूचना अधिकारी रानाभाटले बताए । यस्तै रु तीन लाख बराबरको एउटा मोटरसाइकल पनि बाढीले बगाएर लगेको बताइएको छ । यही असार ४ गते मस्र्याङ्दी नदीमा आएको बाढीले मनाङको गाउँपालिकाको भौतिक संरचनामा ठूलो क्षति पु-याएको हो । पालिकाको वडा नं २ बाहेक सबै वडामा बाढीले ठूलो क्षति पु-याएको छ ।

गाउँपालिकाका अध्यक्ष चन्द्र घलेका अनुसार १, ३, ४, ५, ६, ७, ८ र ९ वडा पूर्णरूपमा बाढीपहिराबाट क्षति भएका छन् । वडा नं ३ मा सबैभन्दा धेरै भौतिक संरचनामा क्षति पु-याएको छ । अध्यक्ष घलेका अनुसार वडा नं १ को ताल गाउँ अहिले बगरमा परिणत भएको छ । मस्र्याङ्दीमा उर्लिएको बाढीले मनाङका विभिन्न स्थानमा ठूलो क्षति पु-याएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार