दसैँका लागि अग्रिम टिकट बुकिङ २२ असोजदेखि

दसैँका लागि असोज २२ गतेबाट अग्रिम टिकट खुल्ला हुने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला, यातायात व्यवस्था विभाग र यातायात व्यवसायीबीच शुक्रबार भएको छलफलले २२ असोजबाट चाडपर्व लक्षित अग्रिम टिकट बुकिङ खोल्ने निर्णय गरेको यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजय स्वाँरले जानकारी दिए ।

‘पूर्वाधार मन्त्री, यातायात व्यवस्था विभागका महानिर्देशकको समन्वयमा अग्रिम टिकट खुलाउन तयार भएका हौं,’ स्वाँरले भने, ‘गाडी थप गर्ने र व्यवस्थापन गर्ने जिम्मेवारी हाम्रो हुन्छ ।’

काठमाडौं उपत्यकाबाट दसैँको समयमा २० लाख यात्रु बाहिरिने गरेको विगतको तथ्यांक रहेको छ । यात्रुलाई सहजताका लागि प्रहरीसँग समन्वय गरी केन्द्रहरु स्थापना गर्ने निर्णय समेत भएको छ ।

व्यवसायीले सडक मर्मत र भाडा बढाएपछि मात्रै अग्रिम टिकट खुलाउने बताउँदै आएका थिए । वर्षाका कारण बिग्रेका सडकको मर्मत तत्काल गर्न मन्त्री ज्वालाले निर्देशन दिएको मन्त्री ज्वालाको सचिवालयले जानकारी दिएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार