सुधीर बस्नेतले मुद्दा फिर्ता लिए, सहकारी व्यवस्थापन समितिले बचत फिर्ता गर्दै

ओरेण्टल बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक सुधीर बस्नेतले सहकारी व्यवस्थापन समितिविरुद्ध दायर गरेको रिट फिर्ता लिएका छन् । बस्नेतले सहकारी व्यवस्थापन समितिको कार्यालयले गरेको जग्गा लिलामीसम्बन्धी निर्णयविरुद्ध अदालतमा दायर गरेको मुद्दा फिर्ता लिएका हुन् । बस्नेतले रिट फिर्ता लिएपछि ओरेण्टल बचत तथा ऋण सहकारी संस्थाको बचकर्ताको बचत फिर्ता गर्ने बाटो खुलेको छ ।

सुधीर बस्नेतले सहकारी व्यवस्थापन समितिसँगको छलफलमा सर्वोच्चमा दायर रिट फिर्ता लिएर बचतकर्ताको पैसा फिर्ता गर्न तयार भएका हुन् । उनले जेठ मसान्तमा नै समितिसँग सहमति गर्दै मुद्दा फिर्ताको लागि सर्वोच्च अदलतमा निवेदन दिएका थिए ।

सरकारले २०७९ असोज ७ गते सहकारीलाई पुनः दोस्रो पटक समस्याग्रस्त घोषणा गरेपछि बस्नेतले अदालतमा उक्त प्रक्रिया गलत भएको भन्दै तत्कालीन मन्त्री, सचिव र सहकारी विभागको रजिष्ट्रारविरुद्ध पनि मुद्दा दायर गरेका थिए । बस्नेतले २०७६ फागुन ११ गतेको निर्णयविरुद्ध सरकारले समस्याग्रस्त घोषणा गरेको भनेर मानहानीको मुद्दा हालेका थिए।

बस्नेतले मुद्दा फिर्ता लिएपछि समितिको कार्यालयले विभिन्न निर्णयहरु गरेको छ । १ लाखभन्दा मुनिका बचतकर्तालाई साउन १५ बाट पैसा फिर्ता गर्न थालिने भएको छ । त्यस्तै ओरेन्टलका ऋणीलाई सम्पर्कमा आउन १५ दिने सूचना सार्वजनिक गर्ने निर्णय पनि भएको छ । ओरेन्टलका जग्गाजमिन खोजतलास गरी लिलामी लैजान पनि निर्णय भएको छ ।

सरकारले २०७९ असोज ७ गते सहकारीलाई दोस्रोपटक समस्याग्रस्त घोषणा गरेको थियो । त्यसलगत्तै समिति बचतकर्ताहरुलाई आफ्नो निक्षेपको मागदाबी गर्न ४५ दिनको म्याद राखेर आह्वान गरेको थियो । त्यसबेला ४ हजार २५९ जनाले ३ अर्ब १९ करोड ५० लाख २२ हजार ८६२ रूपैयाँ बचत फिर्ता पाउनुपर्ने भन्दै दाबी प्रस्तुत गरेका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार