काठमाडौं । नक्कली भुटानी शरणार्थी ठगी प्रकरणका फरार प्रतिवादी केशव तुलाधर पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले तुलाधरलाई काठमाडौंको सानो भर्याङबाट पक्राउ गरेको प्रवक्ता प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले जानकारी दिएका छन् ।
उनका अनुसार प्रहरीले काठमाडौं–१६, नयाँबजारका ५९ वर्षीय तुलाधरलाई बुधबार पक्राउ गरेको हो । तुलाधरलाई ठगी तथा संगठित अपराधको असुरमा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर, टेकु पठाइएको छ ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १८ जना आरोपितमध्ये नेकपा एमालेका सचिव एवं पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, कांग्रेस नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाणसहित १६ जना पुर्पक्षका लागि जेल चलान भइसकेका छन् । काठमाडौं जिल्ला अदालतमा भएको थुनछेक बहसपछि लक्ष्मी महर्जन र टंक गुरुङबाहेक सबैलाई कारागार पठाउने आदेश दिएको थियो ।
त्यस्तै हज कमिटीका अध्यक्ष शमशेर मियाँ, पूर्वसभासद् आङटावा शेर्पा तत्कालीन गृहमन्त्री खाणका स्वकीय सचिव नरेन्द्र केसी र रायमाझीका छोरा सन्दीप, बिचौलियाका रूपमा चिनिएका केशव दुलाल, सानु भण्डारी, सन्देश शर्मा, सागर राई, गोविन्द चौधरी, रामशरण केसी र हरिभक्त महर्जन पनि जेल चलान भएका हुन् । रायमाझी, खाण, नरेन्द्र, चौधरी, रामशरण, मियाँ, सन्दीप र आङटावालाई भन्द्रबन्दी गृह तथा पाण्डे, रिजाल, इन्द्रजित, दुलाल, भण्डारी, शर्मा, महर्जन र सागरलाई केन्द्रीय कारागारको भवनमा राखिएको छ ।
शरणार्थी प्रकरणमा मुछिएका होटल व्यवसायी टंक गुरुङलाई १० लाख र ललितपुरकी लक्ष्मी महर्जनलाई ५ लाख धरौटीमा रिहा भएका थिए । ललितपुरका हरिभक्त महर्जनलाई थुनामा पठाउने आदेश हुँदा पत्नी लक्ष्मीसँग भने धरौटी मागिएको थियो ।
शरणार्थी प्रकरणका आरोपित पूर्व गृहमन्त्री रामबहादुर थापाका छोरा प्रतीक र सुरक्षा सल्लाहकार इन्द्रजितका छोरा निरजका साथै अशोक पोख्रेल, धिरेन राई, मोहन राई, दीपा हुमागाईं, सुनिल बुढाथोकी, विनीता लिम्बू, निरञ्जनकुमार खरेल, राजेश अर्याल र आशिष बुढाथोकी फरार छन् ।
पक्राउ तथा फरार ३० जना अभियुक्तहरूविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले ठगी, कीर्ते, राज्यविरुद्धको अपराध र संगठित अपराधसहितमा जेठ १० गते मुद्दा दर्ता गरेको थियो । २२४ पृष्ठको अभियोगपत्र प्रहरीले सरकारी वकिलमार्फत २८ करोड बराबरको बिगो माग गरेको थियो ।