दुई पटकको असफलतापछि शुक्रबार फेरि चन्द्रमामा यान पठाउँदै भारत

भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) ले तेस्रोपटक चन्द्रमामा रकेट प्रक्षेपण गर्ने भएको छ । १४ जुलाई (शुक्रबार) दिउँसो भारतको महत्वकांक्षी मिसन चन्द्रयान-३ प्रक्षेपण गर्न लागिएको हो ।

यसअघि चन्द्रमा चुम्ने भारतका दुई प्रयास असफल भइसकेका छन् । यस मिसनको उद्देश्य चन्द्रमाको सतहमा सुरक्षित अवतरण गर्नु रहेको छ । यसअघि सन् २०१९ मा भारतले चन्द्रयान-२ प्रक्षेपण गरेको थियो। तर चन्द्रमाको दक्षिणी ध्रुव छुनका लागि केही क्षण बाँकी रहँदा उक्त यानसँग भारतीय अन्तरिक्ष केन्द्र इसरोको सम्पर्क विच्छेद भएको थियो ।

तर उक्त मिसन अपूरो भए पनि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अन्तरिक्ष वैज्ञानिकहरूलाई सम्बोधन गर्दै चन्द्रयान मिसनबाट आफू खुसी भएको र भारतको ठूलो जित भएको बताएका थिए ।

चन्द्रयान इसरोको चन्द्रमा अन्वेषण कार्यक्रम हो । तत्कालीन भारतीय प्रधानमन्त्री अटल बिहारी वाजपेयीले सन् २००३ मा उक्त प्रक्षेपणको घोषणा गरेका थिए भने पहिलोपटक उक्त यान सन् २००८ अक्टोबर २२ मा प्रक्षेपण गरिएको थियो । त्यसबेला ३१२ दिनसम्म चलेर २००९ अगस्ट २९ मा निष्क्रिय भएको थियो ।

त्यसबेला उक्त यानले चन्द्रमाको ३४ चक्कर लगाए पनि चन्द्रमाको सतहमा अवतरण गर्न भने सकेन ।

त्यसैलाई भारतले निरन्तर निरन्तरता दिँदै चन्द्रमामा चुम्ने लक्ष्य जारी राखेको छ । हालसम्म चन्द्रमामा रुस, अमेरिका र चीनले आफ्नो यान अवतरण गराएका छन् । मिसन सफल भएमा भारत चन्द्रमामा यान ‌ओराल्ने चौथो राष्ट्र बन्नेछ ।

शुक्रबारको प्रक्षेपण सफल भयो भने त्यो अन्तरिक्षमा भारतको ठूलो सफलता हुनेछ । यो मिसन भारतको श्रीहरिकोटाबाट दिउँसो २:३५ मा उड्नेछ । अगस्ट २३ वा २४ मा चन्द्रमामा अवतरण गराउने लक्ष्य इसरोको रहेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार