विकासले बदलेको सोच : सहर बसाइँ गएकाहरू पनि धमाधम फर्किन थाले गाउँ

बागलुङ । घरघरमै शुद्ध पानीका धारा छन्। दैलोअगाडिको राष्ट्रिय राजमार्गमा बस गुड्न थालेको पाँच वर्ष भइसक्यो। गाउँमै पालिका अस्पताल निर्माण भइरहेको छ। गाउँभरि व्यावसायिक कागती खेतीको लहरै आएको छ।

बागलुङको सुदूरपश्चिममा रहेको निसीखोला गाउँपालिका–४ झिम्पा गाउँका बासिन्दाको सोच अहिले बदलिएको छ। ‘चार पाँच वर्षअघिसम्म बसाइँसराइको लहरै आएको थियो, धेरै कमाइ हुने घर छाडेर मधेस झरे, गाउँका केही घरसमेत खाली भएका थिए’, झिम्पा गाउँका बासिन्दा प्रमिला मगरले भनिन्, ‘अहिले खाली भएका घरमा समेत मानिस बस्न थालेका छन्, काम विशेष, अध्ययन तथा मजदुरीका लागि राष्ट्रिय लोकमार्ग आसपासमा बसाइँ सरेरसमेत आउन थाले, पहिला घडेरी किन्न तराई सर्नेहरुले अहिले तल्लो झिम्पाको फाँटमा घडेरी किन्न थालेका छन्।’

पहिला–पहिला मेलापात जानुपर्ने, घाँस दाउराका लागि लेक जानुपर्ने अवस्थामा यहाँका बासिन्दालाई दुःख भए पनि अहिले लेक जान छाडिसकेका छन्। ‘पहिलाजस्तो पानी लिन जानुपर्ने, दाउरा घाँस लिन जानुपर्ने अवस्था छैन, श्रीमान्‌ले विदेशमा कमाउनुहुन्छ, त्यही पैसा खर्च गरेर सहरमा कोठा लिएर बस्नुभन्दा आफ्नै गाउँमा बस्न आनन्द छ, पहिला बसाइँसराइ गरेर गएकाहरु समेत गाउँमा सुविधा थप भएपछि फर्केका उदाहरण छन्’, मगरले भनिन्।

गाउँका कुनाकाप्चामै सडक पुगेकाले अहिले सहरमा पाइने सुविधा गाउँमै पाइन थालेपछि बसाइँसराइ गर्नेहरु घटेका मात्रै छैनन् मधेस गएकासमेत गर्मीले शीतल खोज्दै गाउँ फर्किन थालेको स्थानीय चक्रबहादुर रोकाले बताए।  रोकाका अनुसार गाउँबाट दश वर्षअघि बसाइँसराइ गरेर गएका चार परिवार फर्केर गाउँमा आएका छन्।

‘सुविधाका लागि सहर जाने हो, सहरको सुविधा गाउँ आइसक्यो, आँखै अगाडिबाट लामो दूरीका बस नेपालका विभिन्न सहरका लागि छुट्छन्, मध्यपहाडी राष्ट्रिय लोकमार्ग कालोपत्र भएपछि निसीखोलामा विकासले फड्को मारेको हो, गाउँमै प्लास्टिक टनेलमा तरकारी उत्पादन हुन्छ’, रोकाले भने, ‘अहिले २० बाख्रा पालेको छु, ५० कागती र ५० सुन्तलाका बोट हुर्कंदै छन्, गरिबहरु बसाइँसराइ गर्ने कुरै भएन, धनीहरुसमेत सहरको जस्तो घर गाउँमै बनाएर बस्न थाले।’

रोकाले झिम्पा गाउँमैै १० शय्याको पालिका अस्पताल निर्माण भइरहेको जनाउँदै स्वास्थ्य सेवासमेत दैलोमै पाइनेमा झिम्पा गाउँका बासिन्दा आशावादी छन्। तराईमा अहिले गर्मीले बस्न नसक्ने अवस्था हुँदा गाउँमा शीतल छ। झिम्पामा एक घर एक धारा निर्माण भएपछि शुद्ध खानेपानीको सुविधासमेत थपिएको छ। अव्यवस्थित रुपमा पानीको उपभोग गरिरहेका झिम्पावासीलाई शुद्ध खानेपानीको सुविधा थपिएपछि बसाइँसराइ रोक्न झनै टेवा पुगेको हो।

निसीखोला–४ झिम्पाका झन्डै एक सय घरमा गत वर्ष गोर्खा वेलफेयर ट्रर्सले घर–घरमा धारा निर्माण गरेर शुद्ध पानी वितरण गरेको हो। झिम्पा खानेपानी आयोजनामार्फत अहिले ९४ घरमा शुद्ध खानेपानी वितरण भइरहेको झिम्पा खानेपानीका अध्यक्ष चक्रबहादुर रोकाले जानकारी दिए। ‘पानीको सङ्कट थिएन तर अव्यवस्थित थियो, कहिले आउने कहिले नआउने गर्दथ्यो, अहिले मुहानमै शुद्धीकरणको व्यवस्था छ, पानीलाई प्रशोधन गर्नका लागि मुहानमै व्यवस्थापन भएपछि अहिले घर–घरमा शुद्ध पानी वितरण हुन्छ’, रोकाले भने, ‘दुर्गम गाउँका रुपमा चिनिएको झिम्पा अहिले शुद्ध खानेपानी, सडकको पहुँच, दैलोमै राष्ट्रिय राजमार्ग आएपछि फेरिएको छ, यहाँका नागरिकले विकासको महसुस गरेका छन्।’

स्थानीय झजी बुढामगरले विकास दैलोमै आएपछि गाउँ थप रमाइलो भएको बताइन्। आम्दानीको स्रोत भए सुविधा खोज्न सहर जान नपर्ने बुढामगरले बताए। गाउँमा अहिले आय आर्जनका लागि व्यावसायिक कागती खेती थालिएको छ। अहिले झिम्पा गाउँका घरघरमै कागती खेतीको लहर आएको छ। यहाँका स्थानीय परम्परागत खेती छाडेर आयआर्जनका लागि कागती खेतीतर्फ आकर्षित भएको स्थनीय कागती किसान रेमबहादुर क्षत्रीले बताए।

क्षेत्रीका अनुसार अहिले एक घरमा १० कागतीका बोटदेखि चार सय कागतीका बोट लगाउनेहरु छन्। झिम्पागाउँमा प्लास्टि टनेलमार्फत समेत व्यावसायिक तरकारी खेती गर्न थालिएको हो। राष्ट्रिय सडकको पहुँच पुगेसँगै बजारीकरणको समस्या नभएपछि यहाँका बासिन्दा घाँस-दाउरा छाडेर व्यावसायिक कागती खेती, सुन्तला खेती, बाख्रापालन तथा तरकारी खेतीमा आकर्षित भएका छन्।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार