थुनछेक बहसका लागि खाँण‚ रायमाझीसहित पक्राउ परेका सबै आरोपित जिल्ला अदालतमा

नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका आरोपीमाथिको थुनछेक बहसका लागि आरोपीहरूलाई काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको छ ।

काठमाडौं जिल्ला अदालतमा आरोपीहरूलाई आइतबार बिहान उपस्थित गराइएको हो । काठमाडौं जिल्ला अदालतमा नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको आरोपमा पक्राउ परेका नेकपा एमालेका नेता टोपबहादुर रायमाझी, नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणसहित १८ जनालाई थुनछेक बहसका लागि जिल्ला अदालतमा उपस्थित गराइएको छ ।

हालसम्म पक्राउ परेका सबै १८ जनाको बयान सम्पन्न भएपछि आजदेखि थुनछेक बहस सुरु हुन लागेको हो । उक्त थुनछेक बहसपछि आरोपीहरूलाई पुर्पक्षमा पठाउने–नपठाउने भन्ने बारेमा क्रमशः निर्णय लिइनेछ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण, निलम्बित सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजीत राई, भुटानी शरणार्थी नेता टेकनाथ रिजाल, केशव दुलाल र सानु भण्डारीलगायत १८ जनासँग काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेलगायतले बयान लिएका थिए ।

जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले पक्राउ परेका १८ सहितलाई फरार रहेका ३० जनालाई सङ्गठित अपराध, किर्ते, ठगी तथा राज्य विरुद्धको आरोप गरी चार वटा मुद्दा लगाउँदै २७ करोड ५० लाख बिगो माग दाबीसहित काठमाडौं जिल्ला अदालतमा जेठ १० गते मुद्दा दायर गरेको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार