करेन्ट लागेर भाइको मृत्यु, दाजु घाइते

सप्तरीको रुपनी गाउँपालिका–३ कटैयामा करेन्ट लागेर घाइते भएका एक ट्युबवेल मिस्त्रीको आज मृत्यु भएको छ । ट्युबवेल (चापाकल) जडान गर्दा करेन्ट लागेर सोही ठाउँका सञ्जीव लौगीको मृत्यु भएको स्थानीयवासी मिठु माझीले बताए । उनका दाजु सुरेन्द्र लौगी घाइते छन् । घाइतेको उपचार राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भइरहेको छ ।

दुवै दाजुभाइ स्थानीय बचाइ माझीको घरआँगनमा ट्युबवेल जडान गरिरहेका थिए । शनिबार साँझ माथि झुण्डिएको बिजुलीको तारमा फलामको पाइप छोइएर करेन्ट लागेपछि सञ्जीव छटपटाउन थालेका थिए । भुईंमा छटपटाएको देखेर उनका दाजु सुरेन्द्र छोडाउन गएका थिए ।

भाइलाई छुटाउन गएका दाजुलाई समेत करेन्ट लागेपछि बचाइको छोरा शिवकुमार माझी पनि उनीहरुलाई उठाउन गएका थिए । तीनै जनालाई करेन्ट लाग्यो । जसमध्ये सञ्जिवको मृत्यु भयो । घाइतेमध्ये सुरेन्द्रको उपचार राजविराजस्थित छिन्नमस्ता अस्पतालमा भइरहेको छ । अर्का घाइते माझी सामान्य अवस्थामा छन् ।

शव परीक्षणका लागि आज राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा ल्याइएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार