निषेधाज्ञा सातदेखि दश दिन थपिने, पसल खोल्न टाइम कार्ड

निजी गाडी जोर विजोर गर्नेबारे छलफल

काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप गरी पेशा, व्यावसाय चलाउन दिने विषयमा छलफल भएको छ । काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले जारी निषेधाज्ञा सात देखि दश दिनसम्म थप्ने विषयमा छलफल गरेका छन् ।

वैशाख १६ बाट जारी निषेधाज्ञालाई नयाँ मोडालिटीबाट क्रमशः खुकुलो बनाउँदै लगिनेबारे छलफल हुने भएको छ । तर, अघिल्लो पटक जस्तो यसपटक एकै पटक सबै क्षेत्र भने खुल्ला हुने छैन । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले निषेधाज्ञालाई खुकुलो बनाउने विषयमा छलफल भइरहेको तर मोडालिटीबारे टुंगो नलागेको बताए ।

‘निषेधाज्ञालाई क्रमशः खुकुलो बनाउने भन्ने छ, सबै क्षेत्र एकै पटक खुल्दैन, पसल व्यवसायलाई समय निर्धारण गरेर खुलाउने विषयमा छलफल हुँदैछ, सवारी साधनका विषयमा पनि छलफल चलिरहेकै छ, तर मोडालिटीको टुंगो लागिसकेको छैन,’ प्रजिअ पराजुलीले भने ।

अबको थप निषेधाज्ञामा फेन्सी, भाडा पसल लगायत भीडभाड नहुने व्यवसाय चलाउन दिने तयारी भएको उनले बताए । यसै गरि निजी सवारी साधनलाई जोर विजोर प्रणालीमा चलाउन दिने विषयमा पनि छलफल भएको छ । सार्वजनिक सवारी साधन भने अबको थप निषेधाज्ञामा चल्न पाउने छैनन् । सो विषयमा छलफल गर्न सोमबार उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठक बस्ने पराजुलीले जानकारी दिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार