नयाँ पाइला चाल्न सक्ने भीम रावलको संकेत

कैलाली । नेकपा एमालेका नेता भीम रावलले आफूलाई एमालेमा बस्न नदिने उद्देश्यले घचेटिराखे नयाँ पाइला चाल्ने बताएका छन् । तर एमालेमा रहन अन्तिम बिन्दुसम्म पनि प्रयास गर्ने उनले बताए । त्यो अन्तिम बिन्दु कुन हुनेछ भनेर अहिले भन्न नसक्ने उनले बताए ।

आज कैलालीको धनगढीमा पत्रकार सम्मेलन गर्दै उनले भने, ‘म अहिलेसम्म नेकपा एमालेको सदस्य हुँ । तँ नेकपा एमालेको सदस्य बन्न पाउँदैनस् किनभने तैँले राष्ट्रियताको कुरा उठाउन थालिस्, पार्टीमा विधि पद्दतिको कुरा गर्छस् भनेर घचेट्या घचेट्यै गरे भने त्यतिबेला नेकपा एमालेका इमान्दार कार्यकर्ता, जनतासँग सोध्नेछु– अब म यही घचेट्याइ मात्र मानिराखुँ कि नघचेट भनेर जिउ चलाउँ भनेर सोध्नेछु र त्यतिबेला किन घचेटिमाग्ने, उभिनुस् भन्यो भने म उभिएर नयाँ पाइला चाल्न पनि सक्छु ।’

अछाममा सोमबार आयोजित एक कार्यक्रममा एमाले उपाध्यक्ष विष्णु पौडेलले भीम रावलले एकीकृत समाजवादीका विभिन्न नेताहरुसँग भेटेको र पार्टीमा असहयोग गरेको भनेर लगाएको आरोपबारे पनि उनले पत्रकार सम्मेलनमार्फत् जवाफ दिएका छन् ।

उनले एमाले उपाध्यक्ष पौडेल अछाम आउन लागेको जानकारी नदिइएको बताए । ‘यदि मलाई विष्णु पौडेलले म आउँदैछु भनेको भए निश्चित रुपमा मेरो जिल्लामा स्वागत गर्न जाने थिएँ,’ उनले भने । एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रचण्डलाई र माधव नेपाललाई भेट्न हुने तर आफूले अरु पार्टीकालाई भेट्न नपाउने भन्ने नहुने बताए । अरु पार्टीका नेताहरुलाई भेट्न नपाइने भए पार्टीको विधानमा लेख्न उनले सुझावसमेत दिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार