टर्कीमा भूकम्प : एक सय जनाको ज्यान गयो, सङ्कटकाल घोषणा

काठमाडौँ – टर्कीको दक्षिणी क्षेत्रमा गएको ७ दशमलव ८ रेक्टर स्केलको भूकम्पमा परेर एक सय जनाको ज्यान गएको छ । टर्कीको मलाट्यामा मात्रै २३ जनाको ज्यान गएको पुष्टि भएको छ । टर्कीको विपद् व्यवस्थापन सम्बन्धी निकायले ७६ जनाको ज्यान गएको र ४ सय ४० जनाभन्दा धेरै घाइते भएका जनाएको छ ।

सिरियामा मात्रै ४२ जनाको ज्यान गएको त्यहाँका सरकारी सञ्चारमाध्यमले जनाएका छन् । टर्कीका अधिकारीहरुका अनुसार कयौँ मानिस भग्नावशेषहरुमा फसिरहेका छन् । यसले गर्दा ज्यान गुमाउनेको सङ्ख्या बढ्न सक्ने अनुमान गरिएको छ । भूकम्पका कारण कयौँ घरहरु भत्किएका बीबीसीले जनाएको छ ।

उद्धारकर्ताहरुले खोज तथा उद्धारको काम गरिरहेका छन् । टर्कीका आन्तरिक मन्त्री सुलेमन सोयलुका अनुसार भूकम्पबाट १० वटा सहरमा असर परेको छ । अमेरिकी भूगर्भ सर्वेक्षण यूएसजीएसका अनुसार सिरियाको सिमानासँग जोडिएको क्षेत्रमा स्थानीय समय अनुसार बिहान ४ बजेर १७ मिनेटमा ७ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएको हो ।

भूकम्पको धक्का राजधानी अङ्कारासहितका क्षेत्र तथा लेबनान, सिरिया र साइप्रसमासमेत महसुस गरिएको खबरमा उल्लेख छ । भूकम्प पछि परकम्प पनि गइरहेको टर्कीका अधिकारीले जनाएका छन् । टर्की सरकारले भूकम्पपछिको उद्धार र व्यवस्थापनका लागि राष्ट्रिय सङ्कटकाल घोषणा गरेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार