प्रेमप्रसाद मृत्यु प्रकरण : भाटभटेनीका सञ्चालकसँग प्रहरीले लियो बयान

प्रेमप्रसाद आचार्यले आफैँलाई पेट्रोल छर्केर आत्मदाह गरेको घटनामा प्रहरीले भाटभटेनीका सञ्चालकसँग सोधपुछ गरेको छ । भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङले जिल्ला प्रहरी परिसर काठमाडौँमा गएर करिब ३ घण्टा बयान दिएका हुन् ।

आगो लगाउनु अघि उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेको ६ हजार ५५३ शब्दको स्ट्याटसका आधारमा प्रहरीले अनुसन्धान थालेको हो ।

आचार्यले उधारोमा समान लिएर भाटभटेनीले लामो समय पैसा नदिने र सो रकम घुमाएर आफैँले नाफा कमाउने गरेको आरोप लगाएका थिए ।

प्रहरीका अनुसार आचार्यले आफूले पाउनु पर्ने रकम नदिएको आरोप लगाएका व्यक्तिहरुमाथि सोधपुछ सुरु भएको छ ।

प्रेमप्रसाद भाटभटेनी लगायतलाई उधारोमा सामान दिइरहेको परेको भन्दै उनीहरुले ती सामान बेचेर पैसा अन्यमा घुमाएर अरु मुनाफा कमाएपछि मात्रै बल्ल उत्पादकलाई दिने गरेको उल्लेख गरेका थिए ।

अघिल्लो साता मंगलबार दिउँसो आफैंलाई आगो लगाएका प्रेमप्रसादको भोलिपल्ट बिहान ६ बजे कीर्तिपुर बर्न अस्पतालमा मृत्यु भएको थियो । इलामको सूर्योदय नगरपालिका निवासी ३७ वर्षीय आचार्यलाई प्रहरीले उद्धार गरेर अस्पताल पुर्‍याएको थियो ।

उनको शरीरको ८० प्रतिशतभन्दा धेरै भाग जलेको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार