कांग्रेसबाट सहभागी कर्णालीका दुई मन्त्रीले लिए सपथ

कर्णाली प्रदेशमा थपिएका दुई मन्त्रीले सपथ लिएका छन् । मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको सरकारमा नियुक्त दिनबन्धु श्रेष्ठले जलश्रोत तथा ऊर्जा विकास र यज्ञबहादुर बिसीले सामाजिक विकास मन्त्रीको जिम्मेवारीको रूपमा सपथ लिएका हुन् ।

प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले नवनियुक्त मन्त्रीहरूलाई पद तथा गोपनीयताको सपथ गराएका हुन् ।

कांग्रेस संसदीय दलको सिफारिसबमोजिम कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले शनिबार ९ः३० बजे प्रदेशसभा सदस्यद्वय श्रेष्ठ र बिसीलाई मन्त्रीमा नियुक्त गरेका थिए । दुई मन्त्री नियुक्त भएसँगै कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद्ले पूर्णता पाएको छ ।

दुई मन्त्री नियुक्त भएपछि कर्णाली प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले मुख्यमन्त्री शाही नेतृत्वको विसं २०७४ फागुन ६ मा गठित मौजुदा मन्त्रिपरिषद्मा नेपालको संविधानको धारा १६८ को उपधारा (९) र धारा १७० को उपधारा (१) बमोजिम मुख्यमन्त्रीको सिफारिसमा नियुक्ति, हेरफेर र कार्यविभाजन गरी मन्त्रिपरिषद् गठन भएको बेहोरा जानकारी दिएका छन् ।

अब कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् सदस्यमा मुख्यमन्त्री शाही नेतृत्वमा उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढा, भौतिक पूर्वाधार तथा सहकारी विकासमन्त्री अम्मरबहादुर थापा, भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री कुर्मराज शाही, आन्तरिक मामिला तथा कानूनमन्त्री सीताकुमारी नेपाली, आर्थिक मामिला तथा योजनामन्त्री गोपाल शर्मा, जलस्रोत तथा ऊर्जा विकासमन्त्री श्रेष्ठ र सामाजिक विकासमन्त्री बिसी रहनेछन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार