प्रधानमन्त्री ओलीद्वारा यूकेलाई खोप दिन आग्रह

गोर्खा सेनाको योगदान सम्झिएर खोप सहयोग गर्नुपर्ने उनको भनाई

प्रधानमन्त्री केपी शर्मा ओलीले ब्रिटिश समकक्षी बोरिस जोनसनलाई आफूहरूलाई खोप अत्यावश्यक भएको भन्दै सहयोगका लागि आग्रह गरेका छन् ।

प्रधानमन्त्री ओलीले बीबीसीकी दक्षिण एशिया संवाददाता रजनी वैद्यनाथनसँग कुरा गर्दै दुई देशको ऐतिहासिक सम्बन्धका आधारमा त्यसो गर्नु ब्रिटेनको दायित्व हुने बताएका हुन् ।

ओलीले यूकेका लागि नेपाली गोर्खा सैनिकहरूले गरेको त्याग र सेवाका कारण कोभिड सहायतामा नेपाल उसको प्राथमिकतामा पर्नुपर्ने बताएका हुन् । नेपालमा पछिल्लो महिना दैनिक नौ हजारभन्दा धेरै सङ्ख्यामा दैनिक सङ्क्रमण पुष्टि हुने गरेको थियो ।

ओलीले भने, ‘म ब्रिटिश सरकारलाई, खासगरी प्रधानमन्त्री बोरिस जोनसनलाई, नेपालको अवस्था र हामी कसरी दुस्ख पाइरहेका छौँ भन्ने जानकारी गराउँदै केही गर्न भन्न चाहन्छु ।’

प्रधानमन्त्री ओलीले नेपालले जनतालाई भ्याक्सिन लगाइदिएमा कोरोना नियन्त्रण आउने नत्र नियन्त्रणमा कठिन हुने समेत उल्लेख गरेका छन् ।

प्रधानन्त्रीले बेलायत नेपालको सबैभन्दा पुरानो मित्र भएकाले खोपका लागि सिधै आग्रह गरिएको समेत उल्लेख गरेका छन् । ‘गोर्खा सैनिकहरुले उनीहरुको जीवनलाई नै खतरामा राखेर धेरै वर्षदेखि बेलायतमा काम गरिरहेका छन्,’ ओलीको भनाइ छ, ‘बेलायतमा काम गरिरहेका धेरै गोर्खा सैनिकका परिवार नेपालमा छन्, त्यसैले दुई मुलुकको बीचमा बलियो कनेक्सन छ ।’

नेपालका परराष्ट्रमन्त्रीले ब्रिटिश समकक्षी डोमिनिक राबसँग कुरा गरे तापनि ओलीले आफूले प्रधानमन्त्री जोनसनसँग प्रत्यक्ष टेलिफोन संवाद गर्ने प्रयास गरिरहेको बताएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार