प्रधानमन्त्रीद्वारा तीन महिनामा ६ टिप्पणी सदर

प्रधानमन्त्री केपी शर्मा ओलीले तीन महिना अवधिमा ६ वटा टिप्पणी सदर गरेको पाइएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबार कमै उपस्थित हुने प्रधानमन्त्री ओलीले माघ–चैत अवधिमा ६ वटा टिप्पणी सदर गरेका हुन् ।

प्रधानमन्त्री कार्यालयले सो अवधिमा १ सय ५१ पत्र मन्त्रालय तथा निकायमा कार्यार्थ पठाएको छ । महाशाखा तथा शाखामा भने कार्यार्थका लागि १ सय ७७ वटा निवदेन पठाइएको छ । प्रधानमन्त्री कार्यालयले १ सय ४० वटा उपप्रधानमन्त्रीदेखि राज्यमन्त्रीसम्मको भ्रमण स्वीकृत गरेको छ । दुईमहिने अवधिमा १७ विश्वविद्यालयसम्बन्धी पत्र पठाइएको छ ।

प्रधानमन्त्री कार्यालयका अनुसार दुई महिनामा ५ हजार ५ सयपटक टेलिफोनबाट जनसम्पर्क गरी सेवा प्रवाहमा सहजीकरण तथा समन्वयकारी काम भएको छ । यस अवधिमा सचिवको ८८ स्वदेश भ्रमण भएका छन् ।

तीन महिनामा १८ पटक मन्त्रिपरिषद् बैठक बसेको छ । माघ, फागुन र चैतमा ६÷६ पटक बैठक बस्दा ३ सय ६३ निर्णय भएको मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।

सो कार्यालयले बेरुजु फछ्र्योट अनुगमन तथा मूल्यांकन समितिको १ तथा निजामती अस्पताल बोर्डको ५ बैठक आयोजना गरी निर्णय कार्यान्वयनका लागि सम्बन्धित निकायमा पठाउने कार्यमा सहजीकरण गरेको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयद्वारा आयोजित बढुवा समितिको ९२ तथा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको २६ वटा बैठकमा मुख्य सचिवलाई सहभागी गराई कर्मचारी बढुवासम्बन्धी काम भएका छन् ।

तीन महिनामा ४ सय ५० व्यक्तिलाई भेटघाट व्यवस्था मिलाइएको छ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र सञ्चालन निर्देशक समितिको चारपटक बसेको बैठकमा सहभागीलाई बोलाउने, कार्यक्रम व्यवस्थापन, चियापान, कर्मचारी व्यवस्था, आवश्यक सामग्री उपलब्ध गराउनेसम्बन्धी कार्यमा समन्वय गरेको जनाइएको छ ।

सूचना हकसम्बन्धी ऐन, २०६४ बमोजिम सार्वजनिक विवरणअनुसार माघपछि एक सचिवसहित चार कर्मचारीले अवकाश पाएका छन् ।

प्रधानमन्त्री कार्यालयका अनुसार माघपछि एक सचिव, ६ सहसचिव र २२ कर्मचारी सरुवा भएका छन् । यस्तै, तीन सहसचिवसहित १५ कर्मचारी सरुवा भएर प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय आएका छन् । यो समाचार आजको राजधानी दैनिकमा छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार