असार १ गतेदेखि काठमाडौंमा मेलम्चीबाट पानी नआउने

मेलम्ची खानेपानी आयोजनाको पानी करिब दुई महिना काठमाडौंमा नआउने भएको छ । सुरुङमार्गको परीक्षण कार्यविधि (प्रोटोकल) पुरा गर्न सुरुङमा असार १ गतेदेखि पानी पठाउन बन्द गर्न लागिएको मेलम्ची खानेपानी आयोजनाले जनाएको छ ।

आयोजनाका प्रवक्ता राजेन्द्र पन्तका अनुसार असार १ देखि पानी भर्न बन्द गरेपनि १५ दिन सुरुङको पानी खाली गर्न समय लाग्नेछ । त्यसपछि विज्ञ र प्राविधिकले सुरुङभित्र गएर त्यहाँको अवस्था अध्ययन गर्नेछन् । समस्या देखिए त्यसको समाधान पनि गर्नेछन् ।

यो काम काठमाडौंमा खानेपानी वितरण सुरु गर्नुअघि नै गर्नुपर्ने थियो । तर, उद्घाटनको हतारोका कारण पछि सारेर सुरुङ परीक्षणविनै सञ्चालन गरिएको थियो । प्रवक्ता पन्तका अनुसार ठेक्का सम्झौता समापन पनि गर्नुपर्ने बेला भएको छ । त्यसकारण एक पटक सुरूङ परीक्षण जरुरी भएको छ ।

ठेक्का सम्झौता अनुसार सुरूङमा समस्या रहेको देखिए निर्माण कम्पनीले नै मर्मत गर्नुपर्ने प्रावधान छ । सुरुङमा १० फागुनदेखि पानी भर्न थालिएको थियो । साढे २६ किलोमिटर लामो सुरुङ भरिएपछि फागुन २२ गते सुन्दरीजलमा खसालिएको थियो ।

सुरुङबाट सफा पानी आउन थालेपछि वितरण केन्द्रबाट पानी प्रशोधन गरेर चैत १५ गतेबाट वितरण लाइनमा पठाउन थालिएको थियो । अहिले मेलम्ची खानेपानी आयोजनाबाट १७ करोड लिटर काठमाडौं उपत्यकामा आइरहेको छ । त्यो पानी नआउँदा अभाव रहने भएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार