मौन अवधिमा प्रधानमन्त्री ओलीले मत माग्दै दिएको वक्तव्य प्रति काँग्रेसको आपत्ति

प्रधानमन्त्रीको गलत विश्लेषण कै कारण जनताले ज्यान गुमाउनु परेको निष्कर्ष

नेपाली काँग्रेसले राष्ट्रियसभा उप–निर्वाचनको मौन अवधिमा प्रधानमन्त्री केपी ओलीले मत माग्दै वक्तव्य दिएको भन्दै आपत्ति जनाएको छ ।

संसद भवन नयाँ बानेश्वरमा बुधबार बसेको काँग्रेस संसदीय दल कार्यसमितिको बैठकले निर्वाचन आचारसंहिता उल्लंघन गर्दै प्रधानमन्त्री ओलीले मौन अवधिमा मत माग्दै वक्तव्य दिएको भन्दै भत्र्सना गर्ने निर्णय गरेको काँग्रेस प्रमुख सचेतक बालकृष्ण खाँडले बताए ।

उनले निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लंघन गर्ने जो सुकैलाई पनि कारबाही गर्नुपर्छ भन्ने बैठकको ठहर रहेको बताए । बामगती प्रदेशमा राष्ट्रियसभाको उपनिर्वाचन बिहीबार हुँदैछ । खाँणले अहिलको अवस्थामा वैकल्पिक सरकार गठनका लागि अन्य दलसँग छलफल गर्न काँग्रेस खुल्ला रहेको धारणा राखेका छन् ।

त्यस्तै बैठकले कोरोना महामारीबाट जनताको ज्यान जोगाउन सरकार गम्भीर नभएको निष्कर्ष निकालेको छ । नेपालमा कोरोना महामारीको विषयमा सरकार र प्रधानमन्त्रीले गरेको गलत विश्लेषण कै कारण जनताले ज्यान गुमाउनुपरेको काँग्रेस प्रमुख सचेतक खाँडले बताए । महामारीका समयमा जनताको जिवनरक्षा गर्नु सरकारको प्रमुख दायित्व भएपनि सरकार र सरकारका मन्त्रीहरु गम्भीर नभएको र भ्रष्टाचारका कुरा बाहिर आउनु दुखद भएको खाँडले उल्लेख गरे । काँग्रेसले सबै नागरिकलाई कोरोना खोपको प्रबन्ध छिटो भन्दा छिटो उपलब्ध गराउन पनि सरकारको ध्यानाकर्षण गरेको खाँणले जानकारी दिए ।

बैठकले कोरोना रोक्नका लागि अन्तराष्ट्रिय निकायले गरेको सहयोगप्रति धन्यवाद दिँदै आगामी दिन पनि थप सहयोगको अपेक्षा र आह्वान गरेको छ । त्यस्तै कोरोना उपचारका लागि फ्रन्टलाइनमा बसेका व्यक्तिहरुप्रति धन्यवाद दिँदै कोरोना महामारीमा अप्ठ्यारो अवस्थामा परेको क्षेत्रलाई राहत दिन प्याकेज ल्याउन बैठकले सरकारको ध्यानाकर्षण गराएको काँग्रेस प्रमुख सचेतक खाँडले बताए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार