संसदमा ओलीको सम्बोधन : अर्थमन्त्रीमाथि छानबिन गर्न समिति बनाऊ, एसपीपीबारे जानकारी देऊ

बजेटमा देशको होइन दुई चार घरानाको अनुहार देखियो

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गरेका छन् । सम्बोधनका क्रममा ओलीले सरकारको चर्को आलोचना गरेका थिए । उनले संसदमा ‘इन अफ इज इन अफ’को नारा समेत लगाए । ओलीले बजेटमा करका दर हेरफेरको विषयदेखि लिएर एसपीपीसम्मको विषयमा आफ्नो धारणा राखे ।

बैठकमा ओलीले अमेरिकी स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी)मा नेपालको संलग्नताबारे सत्यतथ्य बाहिर ल्याउन आग्रह गरे । उनले एसपीपीका विषयमा कसले, कहिले पत्राचार गरेको भन्ने स्पष्ट पार्ने गरी सत्यतथ्य बाहिर ल्याउन प्रधानमन्त्री शेरबहादुर देउवासँग आग्रह गरे । विदेशी सेनाको इकाइ नेपाल रहने गरी हुन लागेको एसपीपीको विषय कुनै दल र कुनै गठबन्धनको कुरा नभएको भन्दै उनले यसबारे सबै सत्यतथ्य बाहिर ल्याउनुपर्ने बताए ।

आफ्नो संलग्नता नभएको दाबी गर्दै ओलीले सेनाले पत्रमा चलानी र मिति हातले लेखेको हो कि भन्ने आशंका गरे । एसपीपीसम्बन्धी पत्राचारमा तत्कालीन प्रधानमन्त्री तथा रक्षामन्त्री आफू रहेको र त्यसबारे आफूलाई अवगत नगराइएको बताएका थिए । ‘सरकारी कागजपत्रहरूमा त्यस्तो चलानी नम्बर हेरफेर गरी पठाउने; मिति हातले लेख्ने; चलानी नम्बर पछि हातले लेख्ने यस्तो प्रचलन हुँदैन । तर‚ म प्रधानमन्त्री भइसकेपछि पत्र पठाइएको भनेर अहिले जुन आएको छ‚ त्यसको सत्यतथ्य आउनुपर्छ । यो सत्यतथ्य बाहिर ल्याउनुपर्छ,’ प्रधानसेनापतिको अभिव्यक्तिलाई लक्षित गर्दै ओलीले सोधे, ‘नेपाली सेनाले प्रचलन हो भनेको छ । यस्तो प्रचलन पनि हुन्छ र ? प्रचलनै हो भने प्रधानमन्त्री र रक्षामन्त्रीलाई पनि नबताउने प्रचलन पनि हुन्छ र ?’

ओलीले एसपीपीबारेको विषय गम्भीर भएको बताए । उनले राष्ट्रियता, राष्ट्रिय स्वतन्त्रतालगायतका विषयसँग गम्भीर रहेको धारणा राखे । उनले एसपीपी सम्झौतामा आफूलाई पनि मुछ्न खोजिएको भन्दै संसदमा नै आपत्ति जनाएका हुन् ।यस्तै सोमबार संसदलाई डेढ घण्टा लामो सम्बोधन गरेका एमाले अध्यक्ष ओलीले बजेट निर्माणका क्रममा देशकै विरुद्ध अपराध भएको बताए । उनले अर्थमन्त्री जनार्दन शर्माले ल्याएको बजेटमा व्यापारीको अनुहार देखिएको टिप्पणी समेत गरेका छन् ।

उनले भने, ‘बजेट बजेट मात्रै रहेन। यो इमान र नैतिकतासँग हुनुपर्छ। यो बजेटले जनतालाई मर्का पार्ने कुरा मात्रै होइन। जनतालाई मर्का त पर्यो नै। यो बजेट एउटा बहुतै खतरनाक प्रक्रियाबाट निर्माणको प्रक्रियामा मुल्य मान्यतालाई तोडेर आयो। सदनबाहिर त्यो कुरा उठेको छ। तर एमाले को? कसले माग्ने फुटेज ? माग्दैमा दिनुपर्छ? करको दरमा पनि मैले गरेको हो गरिन्छ भनेको छ। मनै राज्य हो।’

करको दरमा व्यक्तिलाई पोस्ने तरिकाले आएको आरोप लगाए। देशको बजेट नभएर दुई चार घरानाको अनुहार देखिएको बताए। साधारण नागरिकले प्रश्न गर्दा समेत जवाफ दिनुपर्ने उनले बताए।

‘गृहमन्त्रालयको अनिवार्य पालना गर्नुपर्ने सिसीटिभिको फुटेज कसरी डिलिट भयो। सिसिटिभी ठेलामा मकै पोल्नेले मान्नुपर्ने। सिसिटिभी अर्थ मन्त्रालय र अर्थमन्त्रीले मान्नुनपर्ने ? किन दिन्छु दिन्नँ भन्ने बेलामा थियो नि। अहिले डिलिट भयो। यत्रो गम्भीर विषयमा’ उनले भने। उनले छानविन समिती बनाएर छानविन गर्न माग गरे।

‘यत्रो पार्टीले फुटेज माग्दा कोहो एमाले भन्ने? एमाले अहिलेको संसद चलाउने हो। अरू पार्टीलाई संसद र जनताप्रति रुची छैन। बजेट कहाँ कसरी आयो ? ज्यादै गम्भिर बिषय छ। प्रमाणित ढंगले मान्छेले भन्न थाले। मन्त्रालयबाटै कुरा आए। नत्र जनताले कसरी थाहा पाउने। बजेट निर्माणको काममा अनधिकृत मान्छे समावेश भएको छ। बजेट बनाउने बेलामा बाहिरको मान्छे आउने पहिलो घटना हो’ उनले भने।

करको दरमा व्यक्तिलाई पोस्ने तरिकाले आएको आरोप लगाए। देशको बजेट नभएर दुई चार घरानाको अनुहार देखिएको बताए। साधारण नागरिकले प्रश्न गर्दा समेत जवाफ दिनुपर्ने उनले बताए।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार