ओली–नेपाल आज पनि छलफल गर्दै, अरु नेतालाई पनि बोलाइयो

पार्टी विवाद हल गर्ने सहमति गरेका एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबिच शुक्रबार पनि छलफल हुने भएको छ । साँझ हुन लागेको बैठकमा कार्यदल सदस्यहरु पनि सहभागी हुने एक नेताले जानकारी दिए ।

‘अन्तिम समयमा स्थगित नभए पहिलो चरणमा केपी ओली र माधव कमरेडसहित कार्यदलको बैठक आजै साँझ साढे ६ बजे तिर बस्ने भन्ने भएको छ,’ ती नेताले भने । दुई नेताबीच बिहीवार भएको वार्ताको सहमति अनुसार कार्यदलमा रहने नेताहरुलाई वार्तामा बोलाइएको बताइएको छ । कार्यदलमा दुई सदस्य पछि थप गर्ने गरी ओलीले आफ्नो पक्षबाट विष्णु पौडेल, सुवास नेम्वाङ, शंकर पोखरेलको नाम तय गरेका थिए ।

नेपालले आफ्नो पक्षबाट भीम रावल, घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र रघुजी पन्तको नाम तय गरेका थिए । साँझ बस्ने बैठकमा यिनै नेताहरु सहभागी हुने भएका छन् । नेता नेम्वाङले पनि साँझ साढे ६ बजेतिर बैठक बस्ने जानकारी दिए ।

पार्टी एकता जोगाउन एमालेलाई ०७५ जेठ २ को अवस्थामा फर्काउनुपर्ने र २८ फागुनयता संस्थापन पक्षका निर्णय खारेज हुनुपर्ने नेपाल समूहको मुख्य सर्त छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार