लुम्बिनीमा राष्ट्रियसभा उपनिर्वाचन जेठ १७ मा

लुम्बिनी प्रदेशको अन्य समूहका तर्फबाट रिक्त राष्ट्रियसभा सदस्य उपनिर्वाचन आगामी जेठ १७ गते हुने भएको छ । सो समूहबाट निर्वाचित चन्द्रबहादुर खड्काको रिक्त पदपूर्तिका लागि सरकारको निर्णयानुसार सो दिन बिहान ९ देखि अपराह्न ३ बजेसम्म मतदानका लागि समय निर्धारण गरिएको छ । उपनिर्वाचनका लागि निर्वाचन कार्यतालिका स्वीकृत भएको भएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए । दाङ जिल्लाको घोराहीस्थित प्रदेश निर्वाचन कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने आयोगले निर्णय गरेको छ ।

उम्मेदवारले पेश गर्नुपर्ने कागजात
आयोगले वाग्मती तथा लुम्बिनी प्रदेशमा हुने राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा मनोनयनपत्रका साथ नागरिकता प्रमाणपत्र प्रतिलिपि र उम्मेदवारको कुनै गाउँपालिका वा नगरपालिकाको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको निस्सा पेश गर्न उम्मेदवारलाई सुझाव दिएको छ । उम्मेदवारले निर्वाचन अधिकृतको कार्यालयमा रु १० हजार धरौटी जम्मा गरेको रसीद वा भौचर पेश गर्नुपर्ने तथा महिला, दलित वा अल्पसंख्यक समुदाय वा आर्थिक रुपले विपन्न उम्मेदवारका हकमा सो धरौटी रकममा ५० प्रतिशत छुट हुनेछ ।

विपन्न भनी स्थानीय तहले सिफारिश गरेको सिफारिशपत्र एवं दलले आफ्नो दलका तर्फबाट उम्मेदवार मनोनयन गरेको औपचारिकपत्रलगायत कागजात प्रस्तुत गर्नुपर्ने छ । प्रस्तावक र समर्थकका नाम, सम्बन्धित प्रदेशसभाका सदस्य वा सम्बन्धित प्रदेशभित्रका गाउँपालिकाका अध्यक्ष वा उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख वा उपप्रमुख समावेश भएको निर्वाचकमण्डलको मतदाता नामावलीमा नाम दर्ता भएको बेहोरा खुल्ने प्रमाण पनि आवश्यक पर्ने आयोगले जनाएको छ । उम्मेदवारको घर संख्या र रहेको स्थान, जग्गाको क्षेत्रफलसमेत उम्मेदवारी दिँदाका बखत सम्पत्ति विवरणमा उल्लेख गर्नुपर्ने छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार