‘आश्वासन मात्र देखाउने नेतालाई लेखेट्छाैँ, मुटु बलियाे बनाएर आए हुन्छ’

३० वैशाखमा हुने निर्वाचनका लागि विभिन्न  राजनीतिक दलले प्रचारप्रसारलाई तीव्र पारेका छन् । तर, बरहताल गाउँपालिका २ गिरीघाटवासीलाई भने निर्वाचनकाे राैनकले छाेएकाे छैन । उनीहरूलाई निर्वाचन आउनुभन्दा नआएकै बेस लाग्छ । २०७१ गएकोे बाढीले घरबारविहीन भएको नौ वर्ष बित्यो । अहिले पनि अभावै अभावमा गुजरा चलाइरहेका उनीहरूलाई नेताकाे आश्वासनप्रति विश्वास लाग्दैन ।

स्थानीय, प्रदेश र संघ सरकारले बसाइ व्यवस्थापन गर्छ कि भन्ने आशैआशमा नौ वर्ष बिते पनि कसैले वास्ता नगरेको इमान नेपालीको गुनासो छ । २०७१ आएको बाढीले बुबाआमा र भाइ गुमाएँ,’उनले भने, ‘बस्ने कतै नभएपछि जंगलको बिचमा बआएर बस्यौँ । सरकारले केही राहत दिन्छकी भन्ने आशमै नौ वर्ष बित्यो । हाम्रा दुःख कसैले हेरेन ।’

इमानजस्तै करिब दुई सय घरपरिवारको बेदना उस्तै छ । घरबारी बग्यो । थातथलो गुम्यो । जेनतेन ज्यान जोगाए पनि बाढीबाट बाँचेकाहरूलाई अहिले पनि मृत्युसँग संघर्ष गर्दै बाँच्नुपरेको छ । ओत लाग्ने घर छैन । पाइला टेक्ने जग्गा जमिन छैन । शिक्षा, स्वास्थ्य, खानेपानी विद्युतको पहुँचबाट टाढा छन् । साँझबिहानको छाक टार्न दिनभरि खोलामा गिट्टी बालुवा निकाल्दै आफू र परिवार पालिँदै आएका छन् । बिहानबाट साँझसम्म पनि खोलामा हातका नङ्ग्रा खियाउँदा पनि पेटभरि खान पुग्दैन । चुनावका बेला नेताले निकै आश्वासन देखाए पनि त्यो पूरा नभएर गफमै सीमित राख्ने गरेको उनीहरुको गुनासो छ ।

चुनावका बेला खुबै आश्वासन बाँड्छन्, अहिलेको चुनावमा पनि आश्वाससन बाँड्दै हिँडे पनि आफुहरू नपत्याउने बसीदेवि नेपाली बताउँछिन् । ‘पहिलेको चुनावमा गफमा झुक्कियौँ,’ उनले भनिन्, ‘अब कुनै पनि आश्वासन सुनिँदैन, ठूला आश्वासन देखाउनेलाई उल्टै लखेटिन्छ । ठूला आश्वासन छाट्ने नेताले मुटु बलियो पारेर आए हुन्छ ।’

सोही ठाउँकै रुपलाल विककाे पनि वेदना उस्तै छ । गिरिघाटमा बस्न थालेको नौ वर्ष भयो । दिउँसोकोे उखरमाउलो घाममा च्यातिएको पालबाट तातो बाफ शरीरमै ठोकिने गरेको उनको भनाइ छ । ‘गर्मी समयमा घाम र लामखुट्टेले सताउँछ । चिसो समयमा कठ्याङ्रिदो जाडोले सताउँछ । हामी बाँचेर पनि मरिरहेका छौँ,’ विकले भने । इमान र बसीदेवीकाे जस्तै उनलाई पनि साँझ बिहानको गर्जो टार्न हम्मेहम्मे छ । खोलामा गिट्टी बालुवा निकालेर गुजरा चलाउने गरे पनि अहिले खोला टिपर ट्याक्टले खाली गरेको उनी बताउँछन् । ‘पहिले खोलामा गिट्टी बालुवामा हातका नङ्ग्रा खियाएर परिवार पाल्थ्यौँ त्यही पनि अहिले डोजरले खोसेको छ,’उनले भने ।

नौ वर्षअघि विस्थापित भएका सुर्खेतका करिब एक हजार ४५ परिवार बाढीपीडितको अवस्था अहिले पनि उस्तै छ । समय बदलिए पनि अवस्था उस्तै छ । अहिले स्थानीय, प्रदेश र केन्द्र गरी तीन तहका सरकार छन । तर, बाढी पीडितको पीडा सुनेको नसुन्यै गरेका छन्  ।

साँझबिहानको छाक टार्न हम्मेहम्मे 

गिरिघाटस्थित छाप्रोमा बस्ने ३२ वर्षीया बसीदेवी नेपाली साँझबिहानको छाक टार्न घाँस काट्ने क्रममा रुखबाट लढेर घाइते भइन् । घाँस बेचेर पाँचजना परिवारको पालनपोषण गर्ने बसीदेवीलाई अहिले हिँड्डुलमा निकै समस्या भइरहेको छ ।

अहिले दिनभरि घरमै बसेर दिन बित्ने गरेको उनी बताउँछिन् । सुकुमाया बिटालुको समस्या पनि उस्तै छ । सरकारमा रहेका व्यक्तिहरू प्रति उनको ठूलो आक्रोश छ । ‘खोलामा गिट्टी कुटेर खाने पेसा पनि डोजरले खोसियो । भनेको बेला रोजगारी पाइँदैन। गिटी कुटेको पैसाले एक छाकमात्रै खान पुग्छ,’ सुकुमाया बिटालुले आक्रोश पोखिन्, ‘लालाबाला बिरामी पर्दा उपचार छैन । चाहेर पनि स्कुल पठाउन सकेकी छैन । भोग्ने नभोग्ने समस्या हामीले झेलेका छौं  । अहिले चुनावमा नेताहरूले अनुहार नदेखाए पनि हुन्छ ।’

बढीपिडीतले तीन लाख राहत पाएका छन्ः प्रदेस सरकार 

२०७१ सालको बाढीले पुर्ण क्षती भएकाहरुको तीन लाख रुपैँया प्राप्त गरिसकेको आर्थिक मामिला तथा योजना मन्त्री बिन्दमान बिष्टले बताए । ०७१ को बाढीबाट प्रभावित सुर्खेतका पूर्ण क्षति भएका सम्पूर्णलाई तीन लाख रुपैयाँ पाइसक्नुभएको छ,’उनले भने । अहिले यहाँ गिरिघाटमा थापाडेरा, सिस्नेरी र हरिहरपुरबाट ६५ घरधुरीको बसोबास छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार