बिरामीको ज्यान जोगाउँदै सङ्क्रमित स्वास्थ्यकर्मी

कोरोना सङ्क्रमितको उपचार हुँदै आएको नेपालगञ्जस्थित भेरी अस्पतालमा कार्यरत ७३ स्वास्थ्यकर्मी र कर्मचारी सङ्क्रमित हुन पुगेका छन् । कोभिड–१९ को दोस्रो लहरसँगै अस्पतालका स्वास्थ्यकर्मी तथा कर्मचारीमा पनि यसको सङ्क्रमण उल्लेख्यरूपमा देखापरेको अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा प्रकाश थापाले जानकारी दिए ।

उनका अनुसार यही वैशाख १ गतेदेखि आजसम्म ७३ स्वास्थ्यकर्मी र कर्मचारीमा सङ्क्रमण पुष्टि भएको छ । नर्सिङ स्टाफ ३३, चिकित्सक आठ, प्यारामेडिक्स आठ, सहायक कर्मचारी २२ र प्रशासनसँग आबद्ध दुई गरी अहिलेसम्म ७३ जना सङ्क्रमित भएका छन् ।

कैयौँ नर्सिङ स्टाफ सङ्क्रमित भएर पनि आफूजस्तै सङ्क्रमितको उपचारमा खटिएका छन् । आफ्नो ज्यानको बाजी लगाएर पनि बिरामीको सेवामा अहोरात्र खटिएका सबै कर्मचारीप्रति अस्पतालले आभार प्रकट गरेको छ । भेरी अस्पतालमा जनशक्तिको कमी हुँदा सङ्क्रमित स्वास्थ्यकर्मी पनि उपचारमा खटिनुपरेको हो । करिब १० स्टाफ नर्स आफै सङ्क्रमित भएर पनि अरु बिरामीको उपचारमा खटिएको अस्पतालका प्रमुख डा थापाको भनाइ छ ।

सो अस्पतालमा कोरोना बिरामीका लागि १४२ श्यया छुट्याइएकामा सङ्क्रमितको चापसँगै त्यसलाई बढाइएको छ । अहिले भेरीमा २१२ बिरामी उपचाररत छन् । श्यया बढ्दै जाने, स्वास्थ्यकर्मी नबढ्ने र भएका पनि सङ्क्रमित भएपछि समस्या भएको छ । पाँच स्टाफ नर्सले १०० जनासम्म बिरामी हेर्नुपर्ने बाध्यता रहेको अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धितालले बताए ।

उनका अनुसार दुई दिनअघि भेरीले जनशक्ति करारमा नियुक्ति गर्ने अधिकार पाएको छ । अस्पतालले ६० कर्मचारी आह्वान गरेको छ । अस्पतालले एनेस्थेसियोलोजिस्ट तीन, मेडिकल अधिकृत १०, नर्सिङ अधिकृत दुई, ल्याब टेक्निसियन पाँच र स्टाफ नर्स ४० जना करारमा माग गरेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार