सिन्धुलीमा कोरोनाको दोस्रो लहर सुरु तर हाट बजार र पार्टी प्यालेस खुलेआम

सिन्धुली जिल्लामा पुनः कोभिड–१९ बाट संक्रमित हुनेको सङ्ख्या बढ्दै गएको छ । एक साताअघिसम्म सङ्क्रमणमुक्त रहेको जिल्लामा अहिले १३ सङ्क्रमित पुगेका छन् ।

शनिबार ६ जना कोभिड–१९ का सङ्क्रमित थपिएसँगै हाल यहाँ दोस्रो लहरका कोभिडका बिरामीको सङ्ख्या १३ पुगेको सिन्धुली अस्पतालले जनाएको छ । कोरोना भाइरसका लक्षण देखिएका व्यक्तिको जिल्लामा नै परीक्षण गर्न प्रयोगशाला स्थापना गरिएको छ ।

जिल्लास्थित पिसिआर परीक्षण प्रयोगशालामा गरिएको स्वाब परीक्षणमा शनिबार ६ जनामा सङ्क्रमण पुष्टि भएको अस्पतालले जनाएको हो । लक्षण देखिएका १३ जनामा गरिएको परीक्षणमा ६ जनामा मात्र कोभिड–१९ को सङ्क्रमण देखिएको अस्पतालका कोभिड प्रवक्ता डा सागर देवकोटाले जानकारी दिए ।

देशभर कोरोना सङ्क्रमितको सङ्ख्या बढेसँगै जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रको यही वैशाख ८ गते बसेको बैठकले जिल्लाभित्रका पार्टी प्यालेस, क्लब, हेल्थ क्लब, जिम खाना, स्विमिङ पुल, सभा, आमसभा, जुलुस र हाटबजार मानिसको भिडभाड हुने अन्य सबै प्रकारका कार्यक्रम वैशाख मसान्तसम्म बन्द गर्ने निर्णय गरेको थियो ।

त्यसको कार्यान्वयन भने हुन सकेको छैन । मास्कको प्रयोग, सामाजिक दूरी कायम तथा स्वास्थ्य सुरक्षाको मापदण्डको पालना नगरी जिल्लामा खुलेआम हाट बजार लाग्ने, पार्टीप्यालेस सञ्चालन र राजनीतिक दलका कार्यक्रम भइरहेका छन् । सामान्य सावधानीसमेत नअपनाउँदा जिल्लामा कोरोना भाइरस सङ्क्रमण तीव्ररूपमा हुनेमा त्रास बढ्दो अवस्थामा रहेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार