युक्रेन-रुस युद्धः परमाणुअस्त्रका जोखिम के हुन् ?

काठमाडौं । रुसले युक्रेनमाथि आक्रमण गरिरहँदा परमाणुअस्त्र प्रयोगको चर्चा चलिरहेको छ । आइतवार राष्ट्रपति भ्लादिमिर पुटिनले रुसी सेनालाई रुसको परमाणुअस्त्र समाविष्ट प्रतिरोधात्मक बललाई युद्धका लागि विशेष भूमिकामा सक्रिय राख्नू आदेश दिए। वास्तवमा यस भनाइको अर्थ के हो भन्ने स्पष्ट नभएको पश्चिमी देशका विश्लेषकहरूले बताएका छन्। ब्रिटेनका अधिकारीहरूका अनुसार पुटिनले प्रयोग गरेको भाषा रुसी परमाणुअस्त्रबारे सतर्कतासम्बन्धी उनीहरूको बुझाइसँग पूर्ण रूपमा मिल्दो छैन।

केहीले पुटिनले सतर्कता स्तरलाई निकै तल्लो स्तर मानिने निरन्तर भन्दा माथिल्लो स्तर उच्च मा पुर्‍याउन आदेश दिएको विश्वास गरेका छन् । त्योभन्दा माथि सैन्य खतरा स्तर र त्यसपछि पूर्ण स्तर हुने गर्छ।

यद्यपि धेरैले यस आदेशलाई प्रमुख रूपमा परमाणुअस्त्रहरू प्रयोग गर्ने वास्तविक उद्देश्यका साटो सार्वजनिक सङ्केतको रूपमा व्याख्या गरेका छन्। पुटिनलाई थाहा छ कि कुनै पनि त्यस्तो कदमपछि पश्चिमको पारमाणविक प्रतिशोध निम्त्याउनेछ।

युकेका रक्षामन्त्री बेन वालेसले यस घोषणालाई मुख्यतया आम मानिसमा प्रभाव पार्न दिइएको बयान भएको बताएका छन्। यसको अर्थ त्यहाँ जोखिम छैन भन्ने होइन र अवस्थालाई नजिकबाट हेरिने सम्भावना छ।

के यो नयाँ चेतावनी थियो ?
गत साता पुटिनले थप साङ्केतिक भाषामा यदि अन्य देशहरूले रुसको योजनामा हस्तक्षेप गरे भने उनीहरूले आफूले कहिल्यै नदेखेको परिणाम भोग्ने चेतावनी दिएका थिए।त्यसलाई नेटोलाई युक्रेनमा प्रत्यक्ष रूपमा सैन्य संलग्नता हुन नदिने चेतावनीको रूपमा व्यापक विश्लेषण गरिएको थियो।

यद्यपि नेटोले रुससँग प्रत्यक्ष द्वन्द्व सुरु हुने र त्यो पारमाणविक युद्धका रूपमा अघि बढ्न सक्ने सम्भावनाका कारण उक्त सङ्गठनले त्यहाँ सेना नपठाउने प्रस्ट पार्दै आएको छ।आइतवार दिइएको चेतावनी भने प्रत्यक्ष र सार्वजनिक थियो।

जोखिमहरू के हुन् ?
यदि पुटिनको धम्कीलाई हतियार प्रयोग गर्ने चाहनाको सङ्केतको साटो चेतावनीको रूपमा लिइएको भए पनि घटनाहरू अनियन्त्रित बन्ने वा एक पक्षले अर्को पक्षबारे गलत विश्लेषण गर्ने जोखिम सधैँ रहन्छ।चिन्ताको विषय त के हो भने पुटिन एक्लो र सबैको सम्पर्कबाट टाढा भएका छन्। उनका सीमित सल्लाहकारहरू मात्र उनलाई सत्य बताउन चाहन्छन्।

केहीमा उनको निर्णय अनिश्चित भइरहेको डर छ। कोही भने उनको निर्णयहरू यसैगरी धेरै अघि बढे सेनाभित्रै कतिपयले ती आदेश मान्न इच्छुक नहुन सक्ने आकलन गर्छन्।अहिले कुनै पनि पारमाणविक द्वन्द्वको जोखिम थोरै बढेको हुनसक्छ, तर ती अझै पनि कम छन्।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार