कालीगण्डकी करिडोरको बागलुङखण्ड कालोपत्रको पर्खाइमा

दश मिटर चौडा भएको राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरको बागलुङखण्ड कालोपत्र बजेट अभावमा रोकिएको छ ।

बागलुङको मालढुङ्गादेखि जैमिनी नगरपालिका–८ छिस्तीको पालुङ्खोलासम्म ४८ किमी खण्डको वातावरणीय परीक्षण र विस्तृत परियोजना प्रतिवेदनसमेत तयार भइसकेको छ । करिडोर सडक आयोजना कार्यालयका अनुसार काम सबै सकिए पनि योजना आयोग र अर्थमन्त्रालयले बजेटको व्यवस्था नगरेका कारण काम रोकिएको हो ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बहुवर्षे आयोजनका रुपमा छिस्तीको अदुवाबारीदेखि बागलुङको बलेवा विमानस्थलसम्म २० किलोमिटर खण्ड कालोपत्रका लागि बजेटको व्यवस्था गरिदिन माग गर्दै अर्थ मन्त्रालय र योजना आयोगलाई पत्राचार गरेको थियो ।सम्बद्ध मन्त्रालयले मागे बमोजिमको बजेट उपलब्ध नगराउँदा उक्त खण्डको काम अल्झिएको हो ।

“निर्वाचनका कारण बजेको अभाव हुनसक्ने सङ्केत प्राप्त भएको छ, स्रोत सुनिश्चित् नभएमा ठेक्का प्रक्रियामा जान अर्को वर्ष कुर्नुपर्छ”, करिडोर आयोजना कार्यालयका सूचना अधिकारी सरोज ढकालले भने । मन्त्रालयको पत्राचारपछि सडक कालोपत्र हुने आशामा रहेका सर्वसाधारण अहिले निराश भएका छन् । चीन र भारत जोड्ने सबैभन्दा छोटो मार्गको रुपमा लिइने करिडोरको तत्काल कालोपत्र थाल्नुपर्ने जैमिनी–७ जैदीका विष्णुराज पौडेलले बताए ।

यो खण्डको काम समयमै सुरु नभएमा ठाउँ ठाउँमा पहिरो जाने समस्या आउदो वर्षायाममा समेत व्यहोर्नु पर्नेमा स्थानीयवासी चिन्तित छन् । डिपिआर अनुसारका संरचना निर्माण भए पहिरोको जोखिम कम हुने र सडक नै बन्द हुने अवस्था नआउनेमा स्थानीयवासी आशावादी थिए । उक्त खण्ड कालोपत्रका लागि मन्त्रालयले रु एक अर्ब, ६८ करोड ८८ लाख ३० लाख १३० बजेट माग गरेको थियो । बागलुङ कुश्मीशेरा सडकको बागलुङ नगरपालिका–१० गलुवामा गत असार १ गते खसेको पहिरो रोकथाम तथा सडक मर्मतको कामका लागि स्रोत सुनिश्चित नहुँदा यो वर्ष काम नहुने भएको हो ।

यो पहिरो व्यवस्थापन गर्न मन्त्रालयले रु एक करोड १७ लाख थप बजेट माग गरेको थियो ।यो पहिरो व्यवस्थापनका लागि स्थानीय स्रोत कम हुने भएकाले केन्द्र र प्रदेश सरकारको ध्यानाकर्षण गराइएको बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले बताए । गत वर्षको वर्षामा यो पहिरोका कारण जिल्लाको दक्षिण जोड्ने सडक तीन महिना बन्द भएको थियो । हिउँदका समयमा पानी पर्दा पनि पहिरो झर्ने गरेकाले आउँदो वर्षामा पनि पहिरो झरेर सडक अवरुद्ध हुने स्थानीयवासी बताउँछन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार