प्रतिमगनकारी शक्तिको टाउकोमा नटेकुन्जेलसम्म गठबन्धन कायम राख्नुपर्छ : डा. भट्टराई

जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले प्रतिगमनकारी शक्तिलाई परस्त गर्नका लागि चुनावसम्म गठबन्धन निरन्तर रुपमा लैजानु पर्ने बताएका छन् ।

समाजवादी प्रेस सङ्गठनले आज आयोजना गरेको कार्यक्रममा जनता समाजवादी पार्टीका सङ्घीय परिषद् अध्यक्षसमेत रहेका भट्टराईले देशभित्र र बाहिर प्रतिगामी शक्तिको खतरा भएकाले गठबन्धनको निरन्तरतामा जोड दिएका हुन् । उनले एमसिसीलगायतका मुद्दामा गठबन्धनमा रहेका दलहरुबीच साझा धारणा बनाएर अघि बढ्नुपर्नेमा जोड दिए । उनले भने, “सानासाना समस्याका कारणले पनि गठबन्धन भत्काउने खतरा छ ।”

‘प्रतिगमन पूर्ण रुपले कहिल्यै परास्त हुँदैन त्यसैले त्यसका लागि निरन्तर रुपमा खबरदारी आवश्यक छ । प्रतिमगनकारी शक्तिको टाउकोमा नटेक्नुजेल अहिलेको गठबन्धन कायम राख्नुपर्छ । यसलाई आगामी चुनावसम्म कायम गर्नुपर्छ,’ भट्टराईले भने,’ विभिन्न बहानामा अहिलेको गठबन्धन टुटाउन खोजिँदैछ । त्यसतर्फ सजक रहन पर्छ । कम्तीमा महत्त्वपूर्ण विषयमा राष्ट्रिय सहमति हुनुपर्छ ।’

अहिलेसम्मको हासिल भएको उपलब्धिको रक्षा गर्नुपर्नेमा पूर्वप्रधानमन्त्री भट्टराईको जोड छ । उन्नत समाज निर्माणका लागि सुशासन, लोकतन्त्र, समृद्धि हासिल गर्नुपर्ने उनले बताए । कोही पनि निजी स्वार्थमा लम्पसार भएमा अमेरिकादेखि छिमेकी दक्षिणपन्थी शक्तिसमेत हाबी हुने खतरा रहेको उनले औँल्याए ।

गत वर्ष पुस ५ गते भएको संसद् विघटन प्रतिगामी कद्म भएकाले त्यसको विरोध गरेको र अझै पनि प्रतिगमन पूर्णरुपमा अन्त्य नभएको पूर्वप्रधानमन्त्री भट्टराईको आरोप थिभयो । विगतमा पनि पटक–पटक लोकतन्त्रमाथि प्रहार भएको र त्यसविरुद्ध नेपाली जनता लड्दै आएको उनको भनाइ छ ।  गत वर्ष पुस ५ गते भएको संसद् विघटनविरुद्ध दल, नागरिक समाज र पत्रकारलगायतले आवाज उठाएको उनले बताए । उनले भने, “अझै पनि सबै मिलेर खबरदारी गर्न लाग्नुपर्छ ।”

केही शक्ति अहिले नै उपलब्धि हासिल भइसकेको भनेर त्यसलाई जोगाउनमा जोड दिइरहेको पूर्वप्रधानमन्त्री भट्टराईले बताए । समाज यथास्थितिमा नबस्ने हुँदा उपलब्धि रक्षा गर्दै थप उपलब्धि हासिल गर्नुपर्नेमा उनले जोड दिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार