राजनीतिक दललाई ध्यानाकर्षणपत्र बुझाउँदै नेपाल बार

प्रधानन्यायाधीश बर्खास्तीको माग

झन्डै एक महिनादेखि आन्दोलनरत नेपाल बार एशोसिएशनले आज प्रमुख राजनीतिक दललाई ध्यानाकर्षणपत्र बुझाउने भएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै आन्दोलनरत बारले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादीसहितका दललाई ध्यानाकर्षणपत्र बुझाउन लागेको हो ।

बार प्रधानन्यायाधीशलाई महाभियोग लगाउन जोड दिँदै आएको छ । तर, दलहरुले कुनै कदम नचालेको भन्दै बारले ३० कात्तिकमै दलहरुलाई ध्यानाकर्षणपत्र बुझाउने निर्णय गरेको थियो ।

नेपाल बार १४ कात्तिकदेखि आन्दोलनरत छ । पछिल्लो पटक बारले सर्वोच्च अदालतमा धर्ना दिँदै आएको छ । कानुन व्यवसायीले सर्वोच्चको मूलगेटमा धर्ना दिँदै आएका छन् भने प्रधानन्यायाधीश जबरा वैकल्पिक गेटबाट अदालत प्रवेश गरिरहेका छन् । बारको निरन्तर आन्दोलनको कारण सयौँ नागरिकका मुद्धा ओझेलमा परेका छन् ।

सोमबार पनि कालोपट्टी बाँधेर धर्ना दिने कार्यक्रम रहेको बार अध्यक्ष चण्डेश्वर श्रेष्ठले जानकारी दिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार