बारको धर्ना जारी, प्रधानन्यायाधीशले तोके ९ इजलास

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै नेपाल बार एसोसिएसनले बुधबार पनि धर्ना कार्यक्रमलाई जारी राखेको छ ।

बारको धर्ना भइरहँदा प्रधानन्यायाधीश जबराले बुधबारका लागि ९ इजलास गठन गरेका छन् । जबराले बुधबार ७ वटा संयुक्त इजलास र दुईवटा एकल इजलास गठन गरेका हुन् । बुधबारका लागि प्रधानन्यायाधीश जबराले वरिष्ठतम् न्यायाधीश दीपककुमार कार्की र डा. आनन्दमोहन भट्टराई, मीरा खड्का र प्रकाशमान सिंह राउत, विश्वम्भरप्रसाद श्रेष्ठ र सुष्मालता माथेमा, बमकुमार श्रेष्ठ र डा। मनोजकुमार शर्मा, टंक बहादुर मोक्तान र नहकुल सुवेदी, प्रकाशकुमार ढुङ्गाना र कुमार रेग्मी तथा तेज बहादुर केसी र डा. कुमार चुडालको संयुक्त इजलास तोकेका छन् ।

त्यसैगरी न्यायाधीश हरिकृष्ण कार्की र हरि प्रसाद फुयालको एकल इजलास तोकिएको छ । न्यायाधीश हरिकृष्ण कार्कीले विदामा बस्ने जानकारी पहिले नै गराएको भएपनि ‘भूलवश’ पेसी तोकिएको सर्वोच्च अदालतले जनाएको छ ।

जबराको राजीनामालाई बटम लाइन बनाएर बार र सर्वोच्च अदालतकै न्यायाधीशहरूले इजलास बहिस्कार गरिरहेका छन् ।

संवाद र वार्ताबाट समाधान खोज्न जबराले गरेको आग्रहलाई न्यायाधीश र बारले अस्वीकार गर्दै जबराकै राजीनामा नै समस्या समाधानको बाटो रहेको बताउँदै आएका छन् ।

कार्यपालिकासँग मिलेर राजनीति भागबण्डा खोजेकोलगायतका आरोप लगाएर जबराको राजीनामा मागिएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार