सरकारको लक्ष्यभन्दा कम आर्थिक वृद्धि हुने एडीबीको प्रक्षेपण

चालु आवमा ४.१ प्रतिशतले बढ्ने अनुमान

एसियाली विकास बैंक (एडीबी) ले चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि ४.१ प्रतिशत हुने प्रक्षेपण गरेको छ । सरकारले चालू आर्थिक वर्षमा ७ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य राखेकोमा एडीबीले सोभन्दा कम हुने प्रक्षेपण बुधबार सार्वजनिक गरेको हो ।

आर्थिक वर्ष ०७६/०७७ मा २.१ प्रतिशतले ऋणात्मक भएको अर्थतन्त्र गत आर्थिक वर्षमा २.१ प्रतिशतले धनात्मक भएको एडीबीले जनाएको छ । केन्द्रीय तथ्यांक विभागले गत आर्थिक वर्ष ४ प्रतिशत आर्थिक वृद्धि हुने प्रारम्भिक अनुमान गरेको छ ।

सरकारको अनुमानभन्दा एडीबीले धेरै कम हुने प्रक्षेपण सार्वजनिक गरेको छ । गत आर्थिक वर्षमा एडीबीले ३.१ प्रतिशत आर्थिक विस्तार हुने सार्वजनिक गरेकोमा पछि पुनरावलोकन गरी २।३ प्रतिशत मात्र हुने अनुमान सार्वजनिक गरेको हो ।

यस्तै चालू आर्थिक वर्षमा एडीबीले ५.१ प्रतिशत आर्थिक वृद्धि हुने प्रक्षेपण गरेकोमा यसको पुनरावलोकन गरी ४.१ प्रतिशत मात्र हुने अनुमान सार्वजनिक गरेको छ ।

गत वर्ष मुद्रास्फीति ३.६ र चालू वर्ष ५.२ प्रतिशत रहने अनुमान एडीबीको छ । सरकारले चालू वर्ष मुद्रास्फीति साढे ६ प्रतिशतमा राख्ने लक्ष्य लिएको छ । कुल गर्हस्थ उत्पादन (जीडीपी) को तुलनामा चालू खाता घाटा ५ प्रतिशत हुने प्रक्षेपण एडीबीको छ । गत वर्ष चालू खाता घाटा ८ प्रतिशत थियो ।

चालु आर्थिक वर्षको सुरुवाति दिनहरुमा कोभिड–१९ महामारी संक्रमणदर उच्च नै रहेकाले आर्थिक वृद्धिदरको लक्ष्य संशोधन गर्नुपरेको एडीबीले जनाएको छ । कृषि, उत्पादन र उद्योग क्षेत्र बिस्तारै लयमा फर्किए पनि पर्यटन र सेवा क्षेत्रमा अझै महामारीको असर बाँकी रहेको छ । स्वास्थ्य क्षेत्र, रोजगारी सिर्जना र सामाजिक सुरक्षाको विषयलाई सरकारले प्राथमिकतामा राखे पनि त्यसको कार्यान्वयनमा देखिएको जटिलताले अर्थतन्त्रको वृद्धिदर खुम्चिएको एडीबीले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार