श्रीमानको हत्या गर्न प्रेमीलाई ६० हजार सुपारी

सिरहाको गोलबजार नगरपालिका–४ निपनिया कुटीका ३९ वर्षीय दुखहरण महराको हत्यामा उनकै पत्नीको संलग्नता देखिएको प्रहरीले बताएको छ ।

महरा गत भदौ १८ गते भारत विहारको जयनगरस्थित बरही गाउँमा मृत फेला परेका थिए । सिराहाका प्रहरी प्रवक्ता डीएसपी सुवास बुढाथोकीले दुखहरणकी पत्नी ३८ वर्षीया हरिहरदेवीले भारतीय नागरिक मुकेश यादवसँग मिलेर पतिको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको बताए ।

हत्या आरोपमा हरिहरदेवीलाई घरबाटै प्रहरीले आइतबार पक्राउ गरी सोमबार साँझ सार्वजनिक गरेको छ । भारतीय प्रहरीले नेपाल प्रहरीलाई घटनास्थलको सम्पूर्ण विवरण पठाएको थियो ।

घटनामा संलग्नमध्येका हरिहरदेवीको प्रेमी २६ वर्षीय मुकेश यादवलाई भारतीय प्रहरीले पक्राउ गरी भारतकै जयनगर थानाबाट थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा डीएसपी सुवास बुढाथोकीले बताए । पक्राउ परेका आरोपित यादव भारतको जिल्ला मधुबनी देउधा गाउँका हुन् ।

प्रहरीका अनुसार हरिहरदेवीले आफू बिरामी भएको बताएपछि श्रीमानश्रीमती भदौ १७ गते भारतको जयनगरतर्फ गएका थिए । साँझ ६ बजेतिर जयनगर रेल्वे स्टेशनमा चिया खान बसेको ठाउँमा मुकेश पनि आएका थिए ।

चिया खाएपछि मुकेशले दुखहरणलाई आफ्नो मोटरसाइकलमा लिएर गएको प्रहरीले बताएको छ । मुकेशले अन्य दुई जना भारतीयको सहयोग लिएर दुखहरणलाई बरही गाउँको नहरमा लगी हत्या गरेको देखिएको प्रहरीले जनाएको छ ।

दुखहरणको हत्या गराउन मुकेशले ६० हजार रुपैयाँ लिएको पाइएको डीएसपी बुढाथोकीले जानकारी दिए । उक्त रकम हरिहरदेवीले गाउँकै एक लघुवित्तबाट ऋण लिएको पनि प्रहरीले जनाएको छ ।

दुई वर्ष अगाडि हरिहरदेवी पाठेघरको अप्रेसन गराउन श्रीमानसँगै भारतीय बजार जयनगर पुगेकी थिइन् । त्यहाँ उनको उपचारको क्रममा अस्पतालमा बस्दा भारतीय नागरिक एम्बुलेन्स चालक मुकेशसँग चिनजान भयो । चिनजानपछि उनीहरुको सम्बन्ध प्रेममा परिणत भयो । उनै मुकेशलाई लगाएर हरिहरदेवीले आफ्नो श्रीमान्को हत्या योजना बनाएको प्रहरीले बताएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार